धरान/ ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा श्रम संस्कृति पार्टीका श्रमदाता सोमप्रसाद राई पक्राउ परेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी, धरानबाट चेकिङमा खटिएका प्रहरी सहायक हवल्दार सुवास विकमाथि हातपात गरेको सूचना पाएपछि प्रहरीले राईलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार २०८३ साउन ३० गते साँझ करिब ५ः४० बजे धरान उपमहानगरपालिका–२ माछाभौडी क्षेत्रमा चेकिङका क्रममा घटना भएको थियो।
धरान–११ बस्ने ३८ वर्षीय राईले ड्युटीमा खटिएका ट्राफिक प्रहरी विकमाथि हातपात गरेको प्रहरीले बताएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायब निरीक्षक सन्दीप कार्कीको कमाण्डमा टोली खटिएको थियो।
प्रहरीले राईलाई बागमती ०६००९ प ८८३ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याएको थियो।
प्रहरीका अनुसार राईविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
उनलाई २०८३ साउन ३० गतेदेखि लागू हुने गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ।
श्रम संस्कृति पार्टीका केन्द्रीय सहप्रवक्ता जीवन विष्टले राई पार्टीका श्रमदाता रहेको पुष्टि गरेका छन्।
उनले राईलाई पार्टीसँग जोडिएको व्यक्ति तथा परिवारकै सदस्यसरह रहेको बताएका छन्। यता पार्टीका नेता तथा भोजपुरका सांसद धुर्वराज राईले भने सोमप्रसाद राई केन्द्रीय सदस्यसमेत रहेको बताएका छन्।
प्रहरीका अनुसार राई पूर्वसशस्त्र प्रहरीसमेत हुन्। उनी निर्माण व्यवसायमा समेत संलग्न रहेको र टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष पदका आकांक्षी रहेको बताइएको छ।
मुलुकी अपराध संहिता, २०७४ को दफा ११८(२) अनुसार अभद्र व्यवहारसम्बन्धी कसुर पुष्टि भएमा एक वर्षसम्म कैद, १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।