धरान/ धरानको भोटेपुलबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
बुधबार राति करिब १०ः३० बजे इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धरान–८ भोटेपुलमा हिँडिरहेका २८ वर्षीय बुद्ध लिम्बुलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गरेको थियो।
खानतलासीका क्रममा लिम्बुको साथबाट ट्रामोल १७० क्याप्सुल, स्पास्पेन १७० ट्याब्लेट र कोलिबान ५० ट्याब्लेट गरी जम्मा ३९० थान लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
लागूऔषधसहित पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।