सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ उल्टीमोडबाट प्रहरीले ३०४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहारको अररिया जिल्ला पतरा पञ्चायत–६ का १९ वर्षीय ईस्मत उल्हा रहेका छन्।
बुधबार साँझ करिब ७ः३० बजे दक्षिणबाट उत्तरतर्फ पैदल आउँदै गरेका उल्हालाई शंकाका आधारमा खानतलासी गर्दा ब्राउन सुगर ३०४ ग्राम ११० मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका उल्हालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।