धरान/ जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ।
लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ३५ वर्षीय भुपाल राईलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–११ स्थित सगरमाथा टोलबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार राई झुम्का कारागारको लगत नं. ४०६८ तथा मुद्दा नं. ०८१–CL–१३५६ अन्तर्गत लागूऔषध मुद्दामा थुनामा रहेका थिए। गत २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनी झुम्का कारागारबाट फरार भएका थिए।
फरार कैदीको खोजतलासका क्रममा प्रहरीले उनलाई २०८३ साउन २३ गते राति ११ः५० बजे धरान–११ सगरमाथा टोलबाट नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउपछि राईलाई आवश्यक प्रक्रिया पूरा गरी झुम्का कारागार पठाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।