मोरङ/ उत्तरी मोरङको लेटाङ–१, राजारानीमा कुनै समय बाँझै रहेको जमिन अहिले हराभरा केराघारी बनेको छ ।
लेटाङ–१ का किसानले व्यावसायिक रूपमा भोटाङे (स्थानीयका अनुसार) जातको केरा खेती गर्न थालेपछि राजारानी क्षेत्रमा प्राकृतिक हरियाली थपिएको छ ।
किसानले केरा बेचेर वार्षिक ५० हजारदेखि छ लाख रुपियाँसम्म आम्दानी लिइरहेका छन् । छ वर्षअघि ५० वटा बिरुवा रोपेर केराको व्यावसायिक खेती सुरु गर्नुभएका लेटाङ नगरपालिका–१ का वडाध्यक्षसमेत रहनुभएका विष्णुकुमार मगरका अनुसार केरा खेतीमा ठुलो खर्च छैन । हाल १२ रोपनीको केरा खेतीबाट वार्षिक छ लाख रुपियाँ आम्दानी लिइरहनुभएका मगरले थप १० रोपनीमा केरा खेती विस्तार गरी २२ रोपनी क्षेत्रफल पुर्याउनुभएको छ ।
उहाँले भन्नुभयो, “जमिन सबै बाँझो थियो । मकै, जुनेलो र कोदो फलाउन पानी अभाव हुन्थ्यो । दुःखले बाली लगायो । खर्चै नउठ्ने ।” विष्णुले खाद्यान्न बाली हटाएर केरा खेती सुरु गरेपछि गाउँमा अरू किसानले पनि उहाँलाई पछ्याइरहेका छन् । त्यसयता लेटाङ–१ का सबै गाउँमा केराको व्यावसायिक खेती सुरु भएको छ । विष्णु मात्र होइन, हरेक किसानले २० बोटदेखि दुई रोपनी क्षेत्रफलमा केराको खेती विस्तार गरिरहेका छन् ।
विष्णुका अनुसार केरा खेती गर्दा प्रतिबिरुवा ६० रुपियाँको बिरुवा, खाल्डो खन्न एक सय रुपियाँ र रोप्न ४० रुपियाँ खर्च हुन्छ । दुई सय रुपियाँ खर्च गरेर रोपेको बिरुवाले एक वर्षपछि त्यहीबाट थप बिरुवा दिन थाल्छन् । एक वर्षपछि केराले आम्दानी दिन थाल्छ । बगानबाटै प्रतिघरी ३५० देखि चार सय रुपियाँसम्ममा केरा बिक्री भइरहेको विष्णुले बताउनुभयो ।
मूल्य तलमाथि भए पनि बिक्री गर्न कहिल्यै समस्या नभएको उहाँको भनाइ छ ।
विष्णुले वडा नम्बर १ को राजारानी क्षेत्रमा केराको व्यावसायिक खेती सुरु गरेपछि यतिबेला उक्त वडाका कर्णबहादुर आलेमगरले पनि २० रोपनीमा केरा खेती गरिरहनुभएको छ । उहाँ मात्रै होइन, हंश मगरले २५ रोपनीमा खेती गरिरहनुभएको छ । एक÷दुई रोपनी लगाउने त गाउँपिच्छे हुनुहुन्छ ।
राजारानीमा मात्रै होइन । वडाका हर्दे, कात्तिके, मुर्चुङ्गे, सरुचेटार, ढाव्रmे र अधँेरी क्षेत्रका किसान पनि कोदो, मकै, जुनेलो र गहुँ फल्ने खेतमा केरा रोप्न थालेका छन् । कर्णबहादुर आलेमगरले भन्नुभयो, “वर्षमा चार पटक गोडेपछि भयो । घरायसी मलको प्रयोगले नै प्रशस्त आम्दानी लिन सकिन्छ ।” विषादी आवश्यक नहुने भएकोले केरा खेतीमा ठुलो लगानी र जनशक्ति पनि आवश्यक नपर्ने किसानको भनाइ छ ।
किसानका अनुसार भोटाङे जातको केराको थाम ठुलो र बलियो हुने भएकाले हावाहुरीबाट कम क्षति पुग्छ । यही कारण लेटाङको हावापानीका लागि उपयुक्त साबित भएको किसानको बुझाइ छ । केरा खेतीसँगै किसानले बिच बिचमा सुपारी पनि लगाउनु भएको छ । सुपारीको बिरुवालाई सानो हुँदासम्म ओझेल चाहिने भएकोले सुपारी लगाएको विष्णु मगरले बताउनुभयो । मगरले प्रयोगका रूपमा ३५० वटा सुपारीका बिरुवा पनि रोपेको जानकारी दिनुभयो । व्यावसायिक केरा खेतीले बाँझो जमिनलाई उत्पादनशील मात्र बनाएको छैन ।
स्थानीय किसानका लागि राम्रो आम्दानीको स्रोत बनेको छ । गाउँसम्म पुग्ने सडक बर्खायाममा पानीले अवरोध नहुँदा किसानलाई बर्खायाममा भने व्यापारी बगानसम्म नआउँलान् कि भन्ने चिन्ता हुने गर्छ ।
श्रोत गोरखापत्र अनलाइन