धरान/ सुनसरीको धरान उपमहानगरपालिका–११ बानडाँडा लाइनबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको गस्ती टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका धरान–११ का ३१ वर्षीय डिकेन्द्र तामाङ र धनकुटाको पाख्रिबास नगरपालिका–५ का २० वर्षीय प्रजोल राईलाई रोकी खानतलासी गरेको थियो।
तलासीका क्रममा उनीहरूको साथबाट डी–साइक्लो (DCYCLO) ९०० पिस र ट्रामोल (TRAMOL) ९०० पिस, गरी १ हजार ८ सय लागूऔषध चक्की फेला परेको प्रहरीले जनाएको छ।
दुवै जनालाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।