धरान/ सुनसरीको देवानगन्ज गाउँपालिका–४ कप्तानगन्जमा आइतबार घाँस काट्न गएकी एक महिलामाथि ढुंगा प्रहार भएको घटनापछि फेरि तनाव बढ्ने संकेत देखिएको छ । सम्भावित अप्रिय अवस्था रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
ढुंगाले लागेर देवानगन्ज–४ की ३३ वर्षीया सरस्वतीकुमारी मेहता घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार घाँस काटिरहेका बेला बिहान ११ः३० बजेतिर ग्याँटिसले हानिएको ढुंगाले उनको टाउकोमा लागेको हो । यद्यपि, ढुंगा कसले प्रहार गर्यो भन्ने विषय अझै पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै करिब १५० जनाजति स्थानीय कप्तानगन्जमा भेला भएका छन् । उनीहरूले निर्दोष महिलामाथि ढुंगा प्रहार गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्नुपर्ने माग राख्दै आक्रोश व्यक्त गरिरहेका छन् ।
प्रहरीका अनुसार स्थानीयको जमघट बढ्दै गएकाले अवस्था संवेदनशील बनेको छ । सम्भावित तनावलाई ध्यानमा राख्दै इलाका प्रहरी कार्यालय देवानगन्जका इन्स्पेक्टर प्रकाश पराजुलीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ ।
प्रहरीले आक्रोशित भिडसँग निरन्तर संवाद र सम्झाइबुझाइ गरिरहेको छ । यद्यपि, विरोध प्रदर्शन उग्र बन्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै घटनास्थल तथा आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । साथै, ढुंगा प्रहारमा संलग्न व्यक्तिको पहिचान र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
देवानगन्जमा केही दिनअघि मात्रै दुई समूहबीच भएको विवाद हिंसात्मक बनेपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो भने आठ जना घाइते अझै उपचाररत छन् । त्यसपछि सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, आक्रमण र लुटपाटका घटना भएका थिए । स्थानीय प्रशासनले हालसम्म निषेधाज्ञा लागू गर्दै सुरक्षा व्यवस्था कडा बनाएको छ ।
पछिल्ला दिनमा अवस्था क्रमशः सामान्य बन्दै गएको भनिए पनि आइतबारको घटनाले देवानगन्ज क्षेत्रमा फेरि तनाव बढ्न सक्ने चिन्ता स्थानीय प्रशासन र सुरक्षा निकायमा बढाएको छ ।