फाईल तस्बिर
धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिकामा गत आइतबार राती देखि भएको घटनाले देश भरिनै धार्मिक युद्धको स्वरुप लिइरहेको छ ।
हिन्दु धर्मावलम्बी र मुसलिम समुदाय बिच भएको धार्मिक युद्धको स्वरुप अहिले विस्तारै सुनसरी देखि अन्य जिल्लाहरुमा पनि सर्दै गएको छ ।
गत श्रावण १० गते बोलबंमका लागि हिडेका हिन्दु धर्मावम्वीहरुले स्थानीय शिव मन्दिर अगाडि धार्मिक गितमा डिजे बजाए पछि स्थानीय मुसलिम समुदायले बन्द गर्न आग्रह गर्दा स्थानीयहरु दुवै धर्मावलम्बीहरु बिच विवाद बढेको थियो ।
विवाद बढ्दै गए पछि धार्मिक युद्धको स्वरुप लिए पछि विवादलाई शान्त पार्न सशस्त्र प्रहरीले गोलि चलाउदा अहिले सम्म सुनसरीमा २ जनाको मृत्यु भई सकेको छ भने सुनसरी देखि बाहेक अन्य जिल्लामा विरोधका प्रदर्शन बढ्दै गए पछि सिरहामा समेत एक जनाको मृत्यु भइसकेको छ ।
गत सोमबार बिहानदेखि प्रशासनले कफ्र्यु आदेश जारी गरे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । घटनाले थप उग्र रूप लिदै गएको छ । तर सोमबार मध्याह्नदेखि नेपाली सेना सडकमा परिचालन भएपछि सुरक्षाको अनुभूति हुन थाले पनि धार्मिक युद्ध हुने अवश्था भने झन झन बढ्दै गएको छ । देवानगञ्ज–२ का स्थानीय इम्रान अन्सारीले भने, ‘यो स्थिति सामान्य बन्नुमा नेपाली सेनाको ठूलो योगदान छ । सेनाको बाक्लो उपस्थितिकै कारण स्थिति सामान्य बन्दै गयो ।’
आइतबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनावपूर्ण अवस्थाको स्मरण गर्दै अन्सारीले सुरक्षाकर्मीको प्रयाससँगै नेपाली सेनाको उपस्थितिले निर्णायक भूमिका खेलेको बताए । ‘सुरुआती चरणमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले अवस्था नियन्त्रणमा ल्याउन प्रयास गरे पनि स्थिति निकै जटिल बनेको थियो । यो घटना सम्हाल्न गाह्रो भइरहेको बेला जब नेपाली सेना सडकमा निस्कियो, त्यसपछि अवस्था बिस्तारै नियन्त्रणमा आउन थाल्यो। सेनाको योगदान अपरिहार्य रह्यो ।’ उनले भने।
मङ्गलबार साँझसम्म पनि पूर्ण रूपमा तनाव साम्य भइसकेको थिएन । केही स्थानमा ढुङ्गामुढा प्रहारका घटना भइरहे पनि थप मानवीय क्षति हुन पाएन । आइतबार घटनाको सुरुआती क्रममा एक जनाको मृत्यु भएको थियो । त्यसपछि नेपाली सेनाको उपस्थितिले थप मानवीय क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको अन्सारीको भनाइ छ ।
घटनापछि देवानगञ्ज क्षेत्रका स्थानीयवासी त्रसित बनेका थिए । रातभरि ढुङ्गामुढा, आगजनी र हुलदङ्गाका कारण सर्वसाधारण घरभित्रै बस्न बाध्य भएका थिए । नेपाली सेनाको गस्ती बढेपछि भने जनजीवन क्रमशः सामान्यतर्फ फर्किन थाल्यो ।
उनले भने, ‘देवानगञ्ज मात्र नभई सुनसरीका विभिन्न स्थानमा देखिएको तनाव र आगजनीका घटना जिल्लाकै लागि दुर्भाग्यपूर्ण रहे । देवानगञ्जका विभिन्न वडासहित सुनसरीका केही ठाउँमा आइतबारदेखि आगजनीका घटना भए । यहाँको इतिहासमै पहिलो पटक यस्तो घटना भएको हो । यो हामी सबैका लागि दुःखद कुरा हो ।’
घटना गत आइतबार राति करिब १०ः३० बजेदेखि सुरु भएको हो । श्रावने सोमबारको बोलबम मेलाका लागि शिव मन्दिरमा जल चढाउन कोशी नदीबाट जल ल्याउने तयारीका क्रममा राति समूहमा भेला भएका युवाले ठूलो आवाजमा डिजे बजाएको विषयलाई लिएर दुई समूहबीच सामान्य विवाद सुरु भएको थियो । विवाद चर्किँदै गएपछि नेपाल प्रहरी घटनास्थलमा पुग्यो ।
तर अवस्था नियन्त्रणमा आउन नसकेपछि सशस्त्र प्रहरी बलसमेत परिचालन गरियो । साथै धार्मिक झण्डा राख्ने तथा हटाउने विषयसमेत जोडिएपछि विवाद उग्र बन्दै ढुङ्गामुढा, लाठी तथा घरेलु हतियार प्रयोग गरी झडप भएको थियो।
स्थिति नियन्त्रणबाहिर गएपछि सुरक्षाकर्मीले सुरुमा अश्रुग्यास प्रहार र हवाई फायर गरे पनि अवस्था थप तनावपूर्ण बनेपछि गोली चलाउनु परेको सुरक्षा निकायको भनाइ छ। दुई पक्षबीचको झडप उग्र बनेपछि प्रहरीमाथि पनि ढुङ्गामुढा भएको थियो। घटनामा गम्भीर घाइतेहरूलाई तत्काल उपचारका लागि विराटनगरलगायतका विभिन्न अस्पताल पु¥याइयो। उपचारका क्रममा अस्पतालले एक जनाको मृत्यु भएको पुष्टि ग¥यो। त्यसपछि घटनाले झन् उग्र रूप लिँदै गयो।
घटनापछि विभिन्न राजनीतिक दल, जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूले निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनको माग गर्न थाले। गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा गम्भीर प्रश्न उठाउँदै केही नेताहरूले घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागसमेत गरिरहेका छन्।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त परिचालनले तत्कालका लागि बाहिरी शान्ति फर्किएजस्तो देखिए पनि जनजीवन पूर्ण रूपमा सहज भइसकेको भनेर ढुक्क हुने अवस्था अझै छैन। अहिलेको यो शान्त वातावरण सार्थक संवादबाट नभई सुरक्षा निकायको कडा व्यवस्थापनका कारण सम्भव भएको हो। सुरक्षा टोलीले भिड नियन्त्रण त गर्न सक्छ, तर समाजमा व्याप्त अविश्वास हटाउन सक्दैन। जबसम्म समाजमा एकापसमा विश्वासको वातावरण बन्दैन, तबसम्म स्थितिलाई पूर्ण सामान्य मान्न सकिँदैन।
अहिले घटनापछि इटहरीसहित जिल्लाका विभिन्न स्थानमा सद्भाव ¥याली आयोजना गरिनुका साथै स्थानीय तहहरूमा सर्वपक्षीय छलफललाई तीव्र पारिएको छ। राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा र स्थानीय प्रतिनिधिहरूले आपसी सहकार्य र संवादमार्फत सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिइरहेका छन्।
घटनापछि सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार हाल जिल्लाको अवस्था सामान्य बन्दै गएको छ भने सुरक्षा निकायले निरन्तर निगरानी र समन्वयका साथ कार्य गरिरहेको छ। घटना साम्प्रदायिक संवेदनशीलतासँग जोडिएकाले सुरक्षा फौजलाई बाक्लो रूपमा परिचालन गरिएको छ। हामी अत्यन्त संयमित भएर शान्ति सुरक्षा बहाल गर्न खटिएका छौँ,“ उनले भने।
घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको समन्वयलाई अझ प्रभावकारी बनाइएको छ। मुख्य सडक, बजार क्षेत्र, संवेदनशील बस्ती तथा सार्वजनिक स्थलमा संयुक्त गस्ती जारी छ। रात्रिकालीन गस्ती, सूचना सङ्कलन, स्थानीयसँग प्रत्यक्ष संवाद र अफवाह नियन्त्रणमा विशेष ध्यान दिइएको डिएसपी खड्काले बताए।
सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचनाले तनाव बढाउन सक्ने भएकाले आधिकारिक र सत्यापित जानकारीमा मात्र विश्वास गर्न उनले आग्रह गरे।