तस्बिर: एआई
काठमाडौँ/ आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरु पूर्णिमा तथा व्यास जयन्ती पर्व श्रद्धा, सम्मान र विविध कार्यक्रमका साथ मनाइँदैछ।
गुरु पूर्णिमाका दिन शिक्षा, दीक्षा, वेदमन्त्र र ज्ञान प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहिआएको छ।
धार्मिक ग्रन्थअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकार हटाएर ज्ञानको उज्यालो फैलाउने व्यक्तिलाई गुरु मानिन्छ।
हिन्दू धर्मशास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका स्वरूपका रूपमा सम्मान गरिन्छ।
यही मान्यताअनुसार गुरुको महिमा वर्णन गर्दै ‘गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः, गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः’ भन्ने श्लोक प्रचलित छ।
माता–पितासरह गुरुलाई पनि देवतासमान मानी ‘आचार्यदेवो भव’ भन्ने संस्कार समाजमा स्थापित छ।
यस अवसरमा देशभरका विद्यालय, गुरुकुल, शैक्षिक संस्था तथा विभिन्न सङ्घसंस्थाले गुरुको सम्मानमा विशेष कार्यक्रम आयोजना गरी शिक्षक तथा गुरुजनप्रति श्रद्धाभाव व्यक्त गरिरहेका छन्।
आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यासको जन्म भएको विश्वासका आधारमा आज व्यास जयन्ती पनि मनाइँदैछ।
वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्नुका साथै १८ पुराण, १८ उपपुराण तथा पाँचौँ वेदका रूपमा चिनिने महाभारतको रचना गरेका मानिन्छ।
व्यासले पुराणमार्फत मानवतावादी सन्देश दिँदै ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरूको उपकार गर्नु पुण्य र अरूलाई दुःख दिनु पाप हो भन्ने शिक्षा दिएका छन्।
गुरु पूर्णिमा तथा व्यास जयन्तीका अवसरमा नेपाल महर्षि वैदिक फाउन्डेसनले चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा विशेष कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा गुरु पूर्णिमाको महत्वबारे प्रवचन तथा आध्यात्मिक कार्यक्रम सञ्चालन हुने जनाइएको छ।