फाईल तस्बिर
धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज बजारमा मंगलबार साँझ झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ ।
आगजनी, तोडफोड र घरेलु हतियारसहितको आक्रमण–प्रत्याक्रमणका कारण सुरक्षा अवस्था केही समय नियन्त्रणबाहिर पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साँझ करिब ७ बजेदेखि सुरु भएको झडप लामो समयसम्म जारी रहँदा दुवै पक्ष ठूलो सङ्ख्यामा सडकमा उत्रिएका थिए । रड, भाला, खुँडा, तरबार लगायतका घरेलु हतियार प्रयोग गर्दै एकअर्कामाथि आक्रमण भएको बताइएको छ ।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा टोली परिचालन गरिएको जानकारी दिए । उनका अनुसार साँझको समयमा भिड नियन्त्रण गर्न कठिनाइ भएको थियो ।
“दुई पक्षबीच भेला भएर झडप गरिरहेका छन् । स्थिति नियन्त्रणमा ल्याउन सुरक्षाकर्मी परिचालन गरिएको भए पनि साँझको समय भएकाले अवस्था निकै चुनौतीपूर्ण बनेको छ,“ उनले भने
झडपका क्रममा सुरक्षाकर्मीमाथि समेत ढुंगामुढा भएपछि केही प्रहरी टोली सुरक्षित स्थानतर्फ फर्किन बाध्य भएको सुरक्षा स्रोतले जनाएको छ ।
घटनास्थलमा पुग्न कठिनाइ भएकाले मानवीय तथा भौतिक क्षतिको यकिन विवरण तत्काल प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार देवानगञ्ज बजार, घुस्कीलगायत क्षेत्रमा आगजनी र तोडफोडका घटना भएका छन् । केही स्थानबाट दनदनी आगो बलिरहेको देखिएको छ भने सर्वसाधारण त्रसित भएर घर छाड्न बाध्य भएका छन् ।
वृद्धवृद्धा, महिला र बालबालिकाको सुरक्षालाई लिएर पनि चिन्ता बढेको छ ।
यसअघि मंगलबार दिउँसो पनि देवानगञ्ज–३ कप्तानगञ्जका केही घरमा आगजनी भएको थियो । दिनभर विभिन्न स्थानमा तनावपूर्ण अवस्था रहेपछि सुरक्षा अधिकारीहरूले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी स्थानीय अगुवासँग छलफल गरेका थिए ।
घटनापछि देवानगञ्ज र हरिनगर क्षेत्रको सुरक्षा व्यवस्थालाई थप कडा पारिएको छ । नेपाली सेनाले दिनको समयमा हेलिकोप्टरमार्फत हवाई निगरानी गरेको थियो भने स्थलमार्फत पनि अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रहरीले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, घरबाहिर ननिस्कन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।