धरान/ सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनापछि सुरु भएको आन्दोलन मंगलबार कोशी प्रदेशदेखि मधेश प्रदेशसम्म फैलिएको छ। घटनाको विरोधमा विराटनगरमा बजार बन्द गराइएको छ भने सुनसरी र सिरहामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेर प्रदर्शन गरिएको छ।
विराटनगरमा आन्दोलनकारीहरूले हनुमान मन्दिरबाट प्रदर्शन सुरु गर्दै ट्राफिक चोक, महेन्द्र चोकलगायतका मुख्य बजार क्षेत्र परिक्रमा गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले व्यापारीहरूलाई पसल बन्द गर्न आग्रह गरेपछि अधिकांश पसल बन्द भएका थिए र बजारको जनजीवन प्रभावित बनेको थियो। प्रदर्शन पुनः हनुमान मन्दिरमै पुगेर सम्पन्न भएको थियो।
आन्दोलनरत पक्षले विराटनगरको बुधहाट चोकमा दिउँसो श्रद्धाञ्जली सभासमेत आयोजना गर्ने कार्यक्रम तय गरेको छ। सम्भावित अप्रिय घटना रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई बजार क्षेत्र, प्रदर्शनस्थल र संवेदनशील स्थानमा बाक्लो रूपमा परिचालन गरिएको छ।
सुनसरीमा मंगलबार पनि प्रदर्शन जारी रहँदा पकलीदेखि कोशी ब्यारेजसम्म पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरिएको छ। राजमार्ग अवरुद्ध भएपछि लामो दूरीका सवारीसाधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन्। सुरक्षा अवस्थालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले इटहरीबाट पश्चिमतर्फ जाने सवारीसाधन सञ्चालनमा समेत रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालयले हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज क्षेत्रमा कर्फ्यू आदेशलाई निरन्तरता दिएको छ। कर्फ्यू लागू भएका क्षेत्रमा भेला, जुलुस, प्रदर्शन र आवतजावतमा प्रतिबन्ध लगाए पनि आन्दोलन भने रोकिएको छैन।
आन्दोलनकारीहरूले कप्तानगञ्ज गोलीकाण्डमा संलग्नमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने माग दोहोर्याउँदै न्याय नपाएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
कप्तानगञ्ज घटनाको प्रभाव मधेश प्रदेशको सिरहासम्म पुगेको छ। सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा स्थानीयहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, गोली चलाउनेमाथि कारबाही र प्रहरी दमन अन्त्य गर्नुपर्ने माग राखेका छन्। उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामासमेत माग गरेका छन्।
यसअघि सोमबार पनि सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुर, गोलबजारको गोलपार्क र धनगढीमाई नगरपालिका–८ कसहा चोकमा प्रदर्शन भएको थियो। सिरहा प्रहरीले आन्दोलनकारीसँगको छलफलपछि करिब आधा घण्टापछि राजमार्ग पुनः सञ्चालनमा आएको जनाएको थियो।
गत आइतबार राति सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–४ निवासी २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने अन्य नौ जना घाइते भएका थिए।
घटनापछि सुनसरी, मोरङ, सप्तरी, सिरहा, पर्सालगायत विभिन्न जिल्लामा लगातार प्रदर्शन भइरहेका छन्। आन्दोलनका क्रममा केही स्थानमा आगजनी, तोडफोड र कुटपिटका घटना पनि भएका छन् भने सुरक्षा निकायले संवेदनशील क्षेत्रको निगरानी बढाएको जनाएको छ।