धरान/ नेपाल चिकित्सक संघको आह्वानमा आज (मंगलबार) देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने भएका छन्।
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा भएको तोडफोड र वार्ताका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा संघले आन्दोलनको घोषणा गरेको हो।
नेपाल चिकित्सक संघ, धरान शाखा, सुनसरीले केन्द्रीय कार्यालयको निर्णयप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै सुनसरी जिल्लाभित्रका सरकारी, निजी, शिक्षण तथा सामुदायिक अस्पताल, मेडिकल कलेज, स्वास्थ्य संस्था र क्लिनिकहरूमा पनि आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द रहने जनाएको छ।
संघका अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि सांघातिक आक्रमण र अस्पतालमा तोडफोड भएको थियो।
त्यस घटनाका दोषीलाई कारबाहीको माग गर्दै पर्सा जिल्ला प्रशासन कार्यालयमा वार्ता भइरहेका बेला नेपाल चिकित्सक संघका केन्द्रीय कार्यकारिणी सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार भएको आरोप संघले लगाएको छ।
धरान शाखाले उक्त घटनाको घोर भर्त्सना गर्दै संलग्न सबै दोषीलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ।
साथै, वार्ताका क्रममा चिकित्सकसँग दुर्व्यवहार गरेको आरोप लागेका पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि तत्काल कारबाही गर्न सरकारसँग माग गरिएको छ।
नेपाल चिकित्सक संघले सुनसरीका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।
आन्दोलनका कारण सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै स्वास्थ्यकर्मीमाथि हुने हिंसा कुनै पनि अवस्थामा स्वीकार्य नहुने र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सरकारसँग पुनः जोडदार माग गरेको छ।