धरान/ धरान उपमहानगरपालिका–१४ स्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपुर दरबार क्षेत्रमा राखिएको ‘वाबुक’ (चिण्डो) अज्ञात समूहले उखालेर केही पर फालिदिएको अवस्थामा फेला परेपछि विजयपुर क्षेत्रमा नयाँ विवाद उत्पन्न भएको छ।
राई र लिम्बू समुदायबीच उक्त चिण्डोलाई लिएर केही समयदेखि सामाजिक सञ्जालदेखि सार्वजनिक रूपमा मतभेद भइरहेका बेला सोमबार बिहान पूजा स्थल नजिक राखिएको चिण्डो हटाइएको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको हो।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बिनालाल शाहको नेतृत्वमा पुगेको टोलीले घटनास्थलको निरीक्षण, फिङ्गरप्रिन्ट संकलन तथा सिसीटिभी फुटेजको अध्ययन सुरु गरेको छ।
प्रारम्भिक रूपमा नजिकैको एक घरको क्यामेरामा कुनै शंकास्पद दृश्य नदेखिए पनि वडा कार्यालयको सिसीटिभी फुटेज हेर्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
विजयपुर दरबार परिसरको सुरक्षा पोष्ट (गढी) क्षेत्रमा चिण्डो राखिएपछि लिम्बू समुदायले त्यसलाई सांस्कृतिक अतिक्रमणको रूपमा व्याख्या गर्दै हटाउन माग गर्दै आएका थिए।
किरात याक्थुङ चुम्लुङ धरानले लिम्बुवानको ऐतिहासिक राजधानी क्षेत्रमा सांस्कृतिक अतिक्रमण भएको दाबी गर्दै विज्ञप्तिमार्फत् विरोध जनाएको थियो।
उता किरात राई यायोक्खाले भने उक्त संरचनालाई साझा सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने धारणा राख्दै आएको छ।
विवाद चर्किँदै गएपछि सुनसरी–१ का प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले दुवै पक्षबीच संवाद र सहमतिबाट समाधान खोज्न आग्रह गर्दै आएका छन्। उनले सामाजिक सञ्जालमार्फत् पनि उत्तेजना फैलाउने गतिविधिबाट टाढा रहन र वार्ताबाट समस्या समाधान गर्न सबै पक्षलाई अपिल गरेका छन्।
यता विजयपुर दरबार संरक्षण संघर्ष समितिले पनि चिण्डो अज्ञात समूहले हटाएको घटनाप्रति दुःख व्यक्त गर्दै यसले सामाजिक सद्भावमा असर पार्न सक्ने भएकाले सबैलाई संयमता अपनाउन आग्रह गरेको छ।
समितिका अनुसार यसअघि सांसद हर्क साम्पाङको पहलमा दुवै पक्षबीच वार्ता सुरु भए पनि संरचना स्थानान्तरणको प्रस्तावमा सहमति जुट्न नसक्दा समाधान टुंगो लाग्न सकेको थिएन।
चिण्डो हटाइएको घटनापछि विजयपुर दरबार क्षेत्रको सुरक्षा र सांस्कृतिक संवेदनशीलताप्रति पुनः गम्भीर चासो बढेको छ।

