धरान/ सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा सुरु भएको साम्प्रदायिक तनाव सकेको छैन । जिल्ला प्रशासन कार्यालयले बिहानदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरे पनि विभिन्न स्थानमा आगजनी, तोडफोड, कुटपिट र आक्रमणका घटना निरन्तर भइरहेपछि जिल्लाको सुरक्षा अवस्था थप जटिल बनेको छ।
आइतबार राति दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगन्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि क्षेत्रको अवस्था थप तनावग्रस्त बनेको हो। घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका थिए भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला सुरक्षा समितिको आकस्मिक निर्णयपछि नेपाली सेना परिचालन गरिएको थियो। बख्तरबन्द गाडीसहित हतियारधारी सैनिक टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा फौज मैदानमा खटिएपछि कप्तानगञ्ज चोकमा जम्मा भएको मुख्य भिड केही हदसम्म तितरबितर भएको थियो।
तर, मुख्य सडकबाट हटेका विभिन्न समूह गाउँबस्ती पसेपछि हिंसाले नयाँ रूप लिएको स्थानीयले बताएका छन्। गाउँभित्र प्रवेश गरेका समूहले घर, पसल र सवारीसाधनमा आगजनी गर्नुका साथै तोडफोड र कुटपिट सुरु गरेपछि सर्वसाधारण त्रसित बनेका छन्। एक समूहले आक्रमण गरेपछि अर्को समूहले पनि धारिलो हतियारसहित प्रत्याक्रमण गरिरहेको स्थानीयको भनाइ छ।
सोमबार दिउँसो देवानगन्ज गाउँपालिका–२ गाउँपालिका कार्यालय अगाडि करिब १५० जनाको समूहले स्थानीय अनबर अन्सारीको डेढतले पक्की घर, सोही घरमा सञ्चालनमा रहेको हार्डवेयर पसल तथा घर अगाडि पार्किङ गरी राखिएको को २ त ५८५२ नम्बरको ट्र्याक्टरमा आगजनी गरेको प्रहरीले जनाएको छ। उक्त घटनाबाट प्रारम्भिक रूपमा करिब ९० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
त्यसैगरी अबाफ अन्सारीको टिनले छाएको कच्ची घर र घरभित्र रहेका दुईवटा मोटरसाइकलमा आगजनी हुँदा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ। अपास अन्सारीको टिनले छाएको कच्ची घर तथा एउटा मोटरसाइकल पनि आगलागीबाट जलेर करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्रहरीले दिएको छ।
दिउँसो १ः२० बजेतिर देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जस्थित परालको दुईवटा टालीमा आगजनी भएपछि भिड नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा १० सेल अश्रुग्यास प्रहार गरेका थिए। त्यसपछि भिड तितरबितर भएको सुनसरी प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले बताए।
यस्तै, इनरुवा नगरपालिका–४ मा बजार बन्द गराउँदै हिँडेको ५०–६० जनाको समूहले बजाज शोरुमका झ्यालका सिसा र होर्डिङ बोर्ड फुटाएको थियो। त्यसको केहीबेरमै इनरुवा नगरपालिका–३ अदालत रोडमा अज्ञात नम्बरको म्याजिक गाडीमा पनि तोडफोड गरिएको प्रहरीले जनाएको छ। इनरुवा प्रहरी बिटमा समेत तोडफोड भएको छ भने पूर्व–पश्चिम राजमार्गअन्तर्गत लौकही र फूलचोक क्षेत्रमा टायर बालेर प्रदर्शन गरिँदा यातायात सेवा प्रभावित भएको छ।
हिंसात्मक घटनाकै क्रममा देवानगन्ज गाउँपालिका–४ का २० वर्षीय मोहन मेहतामाथि धारिलो हतियार प्रहार भएको छ। बजारबाट घर फर्किने क्रममा एक समूहले उनलाई नियन्त्रणमा लिएर टाउकोमा प्रहार गरेको परिवारले जनाएको छ। उनको अवस्था गम्भीर रहेकाले विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले कर्फ्यु आदेश उल्लंघन गर्दै सडकमा उत्रिएको भिडका कारण अवस्था तनावग्रस्त बनेपछि सेना परिचालन गरिएको बताए। उनले समस्या देखिएका क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको र अवस्था थप बिग्रिए संयुक्त सुरक्षा फौजले कानुनअनुसार कडा कारबाही गर्ने चेतावनी दिए।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार सुरक्षा चुनौती बढेपछि प्रदेशका विभिन्न जिल्लाबाट थप नेपाल प्रहरी, सशस्त्र प्रहरी र दंगा नियन्त्रणका विशेष टोली सुनसरी पठाइएको छ। सुरक्षा उपस्थितिलाई थप सुदृढ बनाउँदै अवस्था नियन्त्रणमा ल्याउने प्रयास भइरहेको उनले बताए।
जिल्ला प्रशासन कार्यालय इनरुवामा बसेको सर्वपक्षीय बैठकले शान्ति, सामाजिक सद्भाव र कानुनी प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाएको भए पनि घटनास्थलका विभिन्न गाउँबस्तीमा छिटफुट आक्रमण, आगजनी र तोडफोडका घटना जारी रहेकाले सुनसरीको सुरक्षा अवस्था अझै अत्यन्त संवेदनशील र चुनौतीपूर्ण बनेको छ।