सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर युवकको मृत्यु

  • साउन ११, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय २४ वर्षीय ओमप्रकाश मेहता रहेको सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।

गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो।

उपचारकै क्रममा आइतबार राति करिब ११ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा रहेका दुई समूहबीच सामान्य विवाद सुरु भएको थियो।

रातिको समयमा होहल्ला भएको भन्दै अर्को समूहले अवरोध गरेपछि विवाद झडपमा परिणत भएको र पछि हिंसात्मक बनेको थियो।

स्थिति नियन्त्रणबाहिर गएपछि सशस्त्र प्रहरीले गोली चलाएको जनाएको छ।

घटनामा गोली लागेर १० जना सर्वसाधारण घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम, नोबेल मेडिकल कलेज, कोशी अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अधिकांश घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको छ भने केहीलाई थप उपचारका लागि रिफर गरिएको छ।

झडपमा प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। राईको टाउकोमा चोट लागेर पाँच वटा टाँका लगाइएको छ भने अन्य सुरक्षाकर्मीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार झडपका क्रममा घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनीसमेत भएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुग्दासम्म अवस्था नियन्त्रणबाहिर रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झडपमा घाइते भएका २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ ।

२१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

राईको टाउकोमा चोट लागेको छ । प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव पनि घाइते भएका हुन् ।

घटनापछि सुनसरीको सदरमुकाम इनरुवामा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको थियो।

बैठकले अवस्था तत्काल नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउनु परेको निष्कर्ष निकालेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युएन नवोदयकलेजका हो ...

सुनसरी/  धरान-१६ स्थित नेपालकै एक प्रतिष्ठित ...

धरानमा सातौँ इन्टर भ ...

धरान/  भारतीय राजदूतावास पेन्सन वितरण कार्याल ...

कोशीमा नेतृत्व फेरबद ...

धरान/केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ ...

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved