सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६, इस्राईल कामत क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
शुक्रबार बिहान ५ः५० बजे प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरी टोलीले भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका धनकुटा नगरपालिका–१ निवासी ३५ वर्षीय मनबहादुर थापालाई शंकाको आधारमा जाँच गर्दा उनको साथबाट चार वटा पोकामा लुकाइराखिएको १०८.०३ ग्राम ब्राउन सुगर बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद पदार्थमध्ये क्रमशः ३८.१३ ग्राम, ३७.३१ ग्राम, ३०.७५ ग्राम र १.८४ ग्राम रहेको छ।
लागुऔषधसहित पक्राउ परेका थापालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।