काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारमाथि शनिबार मध्यराति आएको बाढीले थप विपत्ति निम्त्याएको छ।
बाढीबाट जोगिन सुरक्षित स्थानतर्फ लाग्ने क्रममा काँधमा जेब्रा झोला बोकेर हिँडिरहेको एक सानो बालकको तस्बिर सार्वजनिक भएपछि त्यसले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलेको छ।
उक्त तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले बालकलाई आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
साम्पाङले फेसबुकमा लेखेका छन्, यो बालकलाई मैले मेरो व्यक्तिगत तर्फबाट रु. ५० हजार सहयोग गर्ने भएँ। तिमीलाई यो सरकारले दिएको चोटमा मेरो तर्फबाट सानो मलमपट्टी।
बालकको अवस्थाप्रति दुःख व्यक्त गर्दै उनले पीडामा प्रत्यक्ष साथ दिन नसके पनि सानो सहयोगमार्फत साथ दिन चाहेको उल्लेख गरेका छन्।
त्यसैगरी अर्को लामो फेसबुक स्टाटसमा साम्पाङले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्यालाई उठाउँदै वर्तमान सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
आफू धरानको मेयर हुँदा सुकुम्बासी बस्तीमा घर नम्बर वितरण, नाली निर्माण, घर मर्मतका लागि बजेट तथा आर्थिक सहयोग उपलब्ध गराएको उल्लेख गर्दै अहिलेको सरकारले भने सुकुम्बासीलाई बेघर बनाएको आरोप लगाएका छन्।
उनले यो बालक र यस्ता हजारौँ–लाखौँ बालबालिकाको भविष्य नै देशको भविष्य हो। देश बचाउन उनीहरूको भविष्य सुरक्षित हुनुपर्छ,भन्दै बालकले बोकेको जेब्रा झोलातर्फ संकेत गर्दै भावुक टिप्पणी पनि गरेका छन्।
त्यो झोलामा किताब छ कि चामल, कि लुगा थाहा छैन। तर मलाई लाग्छ, त्यसमा यो देश बनाउने सपना बोकेको छ, भन्दै उनले सबैलाई पीडित बालक र यस्ता बालबालिकाको भविष्य जोगाउन आग्रह गरेका छन्।
उक्त तस्बिर कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि आश्रित परिवार सुरक्षित स्थानतर्फ सर्दै गर्दा खिचिएको थियो। त्यसपछि सामाजिक सञ्जालमा भाइरल बनेको तस्बिरसँगै साम्पाङको सहयोग घोषणाले पनि व्यापक चर्चा पाएको छ।
