धरान/ धरान–१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले भारतको नागाल्यान्ड राज्यमा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली कला, संस्कृति र परम्पराको झल्को प्रस्तुत गर्ने भएका छन्।
विद्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको नागाल्यान्ड राज्यको मोकोक्चुङस्थित गोर्खा विद्यार्थी सङ्घको औपचारिक निमन्त्रणामा आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा असार २९ गते आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नेपालको प्रतिनिधित्व गर्ने जानकारी दिएको हो।
कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, भेषभूषा र परम्परालाई झल्काउने पाँच वटा सांस्कृतिक नृत्य प्रस्तुत गरिनेछ। यसका लागि विद्यालयका ८ जना विद्यार्थीसहितको टोली असार २७ गते नागाल्यान्ड प्रस्थान गर्ने तयारीमा रहेको विद्यालयले जनाएको छ।
विद्यालयका प्रबन्ध निर्देशक गणेश राईले यो अवसर लोटस स्कुलका लागि मात्र नभई नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने महत्वपूर्ण अवसर भएको बताए।
उनका अनुसार नागाल्यान्डमा बसोबास गर्दै आएका नेपाली मूलका समुदायबीच नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा विद्यालयको सहभागिता अर्थपूर्ण रहनेछ।
विद्यालयकी प्रिन्सिपल सन्चिता राईले विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शनसँगै नेपाली संस्कृतिको मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मानपूर्वक प्रस्तुत गर्ने विश्वास व्यक्त गरिन्।
धरानको एउटा विद्यालयले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा औपचारिक निमन्त्रणा प्राप्त गर्नु गौरवको विषय भएको विद्यालयको भनाइ छ।
यस सहभागिताले नेपाली कला, संस्कृति र परम्परालाई विश्वसामु परिचित गराउनुका साथै धरान र नेपालको प्रतिष्ठा अझ उँचो बनाउने अपेक्षा गरिएको छ।