- स्वर्णिम राई
धरान/ धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग भित्रिएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लामो समयदेखि निष्क्रिय रहेका पाँच उद्योगको लिज सम्झौता रद्द गर्दै नयाँ उद्योगलाई स्थान दिएसँगै करिब ३५ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी भित्रिएको हो।
नयाँ उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने धरान औद्योगिक क्षेत्र कार्यालयका प्रमुख जीवनारायण बन्जाडेले जानकारी दिए।
उनका अनुसार कानुनी प्रक्रिया पूरा गरी उत्पादन नगरी लामो समयदेखि जग्गा ओगटेर बसेका उद्योगको लिज सम्झौता रद्द गरिएको हो।
निष्क्रिय उद्योगको सम्पत्ति मूल्याङ्कन गरी कम्पनीको विनियमावलीबमोजिम सार्वजनिक प्रस्ताव आह्वान तथा लिज हस्तान्तरण प्रक्रिया पूरा गरेपछि नयाँ उद्योगसँग सम्झौता गरिएको उनले बताए।
धरान औद्योगिक क्षेत्रमा प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज प्रालि, जीडी स्टिल इन्डस्ट्रिज प्रालि, सिद्धि विनायक घरेलु उद्योग, जेआर भेन्चर्स प्रालि तथा सूर्य डायमन्ड इन्डस्ट्रिज प्रालि थपिएका छन्।
सूर्य डायमन्ड इन्डस्ट्रिज प्रालिको लिज सम्झौता भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको केन्द्रीय कार्यालयबाट अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको प्रमुख बन्जाडेले बताए।
यसअघि नेपाल न्यून नेटवर्क प्रालि, शुभम् वाटर इन्डस्ट्रिज प्रालि, जानकी प्रोडक्ट्स, फेमिली युटेन्सिल इन्डस्ट्रिज प्रालि र कामना मल्टिफोर्ड इन्डस्ट्रिज प्रालिको लिज सम्झौता रद्द गरिएको थियो।
सञ्चालनको तयारीमा रहेको प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिजले पानीका मिटर तथा फिटिङ सामग्री उत्पादन गर्नेछ।
जीडी स्टिल इन्डस्ट्रिज प्रालि र जेआर भेन्चर्स प्रालिले निर्माण सामग्री उत्पादन गर्नेछन्। सिद्धि विनायक घरेलु उद्योगले खाद्यान्न तथा पशु आहार उत्पादन गर्ने तयारी गरेको छ।
सूर्य डायमन्ड इन्डस्ट्रिज प्रालिले विभिन्न प्रकारका भाँडावर्तन उत्पादन गर्ने योजना बनाएको छ।
प्रमुख बन्जाडेका अनुसार उत्पादनमुखी उद्योगलाई प्राथमिकता दिँदै आयात प्रतिस्थापन, राजस्व वृद्धि तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले नयाँ उद्योगसँग सम्झौता गरिएको हो।
उनले उद्योग सञ्चालनमा आएपछि स्वदेशी बजारको माग पूर्ति हुनुका साथै केही वस्तु निर्यात गर्ने सम्भावना पनि रहेको बताए।
धरान औद्योगिक क्षेत्रमा यसअघि पनि प्लास्टिकजन्य पाइप, खाद्यान्न, धातुजन्य सामग्री, होजियारी तथा डेरीजन्य वस्तु उत्पादन गर्ने उद्योग सञ्चालनमा छन्।
भारत सरकारको सहयोगमा विसं २०२९ मङ्सिर २६ गते शिलान्यास भई विसं २०३२ पुस १ गतेदेखि सञ्चालनमा आएको धरान औद्योगिक क्षेत्र धरान उपमहानगरपालिका–८, तीनकुनेमा अवस्थित छ।
दुई सय दुई रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमध्ये १४३ रोपनी १४ आना जग्गा उद्योगलाई भाडामा दिइएको छ। करिब ५५ रोपनीभन्दा बढी जग्गा युटिलिटी सेवाका लागि प्रयोग गरिएको छ।
हाल औद्योगिक क्षेत्रमा ३५ उद्योग रहेका छन्। तीमध्ये ३० उद्योग सञ्चालनमा छन् भने पाँच उद्योग निर्माणको अन्तिम चरणमा रहेका छन्।
सञ्चालनमा रहेका उद्योगमा आठ सय पुरुष र दुई सय महिला गरी करिब एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
औद्योगिक क्षेत्रमा निजी क्षेत्रबाट करिब दुई अर्ब रुपैयाँभन्दा बढी तथा सरकारी क्षेत्रबाट एक अर्ब ७० करोड रुपैयाँभन्दा बढी लगानी रहेको कार्यालय प्रमुख बन्जाडेले जानकारी दिए।