इटहरी / सुनसरीको इटहरी ६ मा अवस्थित माेडर्न प्रिपरेटरी माध्यमिक विद्यालयमा विद्यार्थीहरूमा पठन संस्कृतिको विकास, साहित्यप्रतिको रुचि अभिवृद्धि तथा प्रभावकारी अभिव्यक्ति क्षमता विकास गर्ने उद्देश्यले कला तथा साहित्य क्लबको आयोजनामा ‘पुस्तक समीक्षा शृङ्खला– पहिलो संस्करण’ सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा कक्षा ७ देखि १० सम्मका ६ जना विद्यार्थीले ६ वटा फरक–फरक पुस्तकमाथि गहन अध्ययन गर्दै समीक्षा, विश्लेषण र आफ्ना विचार प्रस्तुत गरेका थिए।
विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र विश्लेषणात्मक क्षमताले कार्यक्रमलाई विशेष बनाएको विद्यालयले जनाएको छ।
प्रतियोगितामा कक्षा ९ की मिनाक्षी अधिकारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुना मदन पुस्तकमाथिको उत्कृष्ट समीक्षाबाट प्रथम स्थान हासिल गरिन्।
कक्षा ९ का जीवन भट्टराईले मावलीको यात्रा पुस्तकमाथिको प्रस्तुतिबाट द्वितीय तथा अमिक ओझाले मसान पुस्तकमाथिको समीक्षाबाट तृतीय स्थान प्राप्त गरे।
विद्यालयका प्राचार्य पद्मराज सापकोटाले यस्ता सिर्जनात्मक कार्यक्रमले विद्यार्थीमा पठन संस्कृतिको विकाससँगै ज्ञान, साहित्य र जीवनप्रतिको दृष्टिकोण फराकिलो बनाउने बताउनुभयो।
उहाँका अनुसार पुस्तक अध्ययन, विश्लेषण र सार्वजनिक प्रस्तुतिले विद्यार्थीहरूको आत्मविश्वास, आलोचनात्मक सोच, नेतृत्व क्षमता तथा सिर्जनशीलताको विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ।
वि.सं. २०४९ सालदेखि शैक्षिक सेवा प्रदान गर्दै आएको मोडर्न प्रिपरेटरी माध्यमिक विद्यालयमा हाल नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुँदै आएको छ।
गुणस्तरीय शिक्षा, सिर्जनात्मक सिकाइ र अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको विद्यालयप्रति पछिल्लो समय विद्यार्थी तथा अभिभावकको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको विद्यालयले जनाएको छ।
विद्यालयले गुणस्तरीय शिक्षा पाठ्यपुस्तकमा मात्र सीमित नहुने उल्लेख गर्दै पुस्तक अध्ययन, साहित्यिक विमर्श, रचनात्मक प्रस्तुति तथा ज्ञान आदान–प्रदानमार्फत सक्षम, सचेत र जिम्मेवार नागरिक निर्माण गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।