सर्लाही/ सर्लाहीको बसबरिया गाउँपालिका–१, मानपुरका एक युवकले आफ्नै बुवा र भिनाजुलाई फसाउने नियतले छिमेकीको हत्या गरेको रहस्य बाहिरिएको छ।
असार ७ गते मानपुरका ५३ वर्षीय होसनारायण राय यादवको घरमा सुतिरहेका बेला धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । प्रहरीले सोही हत्याको आरोपमा मृतकका छिमेकी २५ वर्षीय सन्तोषकुमार रायलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी हत्या आरोपी सन्तोषलाई सार्वजनिक गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार असार ६ गते मोबाइलको निहुँमा आरोपी सन्तोषको आफ्नै बुवा श्यामबाबु रायसँग झगडा भएको थियो । बुवा श्यामबाबु र भिनाजु रामविलास रायसँग बारम्बार पैसा माग्दा पनि नदिएपछि सन्तोष आक्रोशित बनेका थिए ।
सोही कारण आफ्नो घरमा बारम्बार आइरहने छिमेकी होसनारायणको हत्या गरेमा बुवा र भिनाजु स्वतः फस्ने योजना बनाई सन्तोषले सो घटना घटाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलले जानकारी दिनुभयो । खराब आचरणका कारण सन्तोषलाई परिवारले यसअघि सुधार केन्द्रमा समेत राखिसकेको एसपी पौडेलले बताउनुभयो ।
प्रहरीका अनुसार सन्तोषले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । हत्या गर्न जाँदा र हत्यापछि फरार हुँदा उनले चोरीको ना ४५ प २६८५ नम्बरको मोटरसाइकल प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
होसनारायणको हत्यापछि सन्तोषले उक्त मोटरसाइकल लालबन्दी नगरपालिका–२, नवलपुर क्षेत्रमा छाडेर फरार भएका थिए । असार ८ गतेदेखि बेवारिसे अवस्थामा रहेको सो मोटरसाइकलबारे प्रहरीलाई असार १४ गते मात्र जानकारी प्राप्त भएको थियो ।
प्रहरीले असार १६ गते बरहथवा नगरपालिका–७, बरहथवा बजारनजिकबाट सन्तोषलाई पक्राउ गरेपछि उनले मोटरसाइकल नवलपुरमा छाडेको स्वीकार गरेका थिए । घटनास्थल नजिकैको एक पसलमा जडान गरिएको सीसीटीभी क्यामेराको फुटेज र प्राविधिक सहायताका आधारमा प्रहरीले सन्तोषलाई पक्राउ गर्न सफल भएको हो ।
हत्यापछि सन्तोषले खेतमा फ्याँकेको हँसिया प्रहरीले बरहथवा नगरपालिका–१३ बाट बरामद गरेको छ । सन्तोषमाथि कर्तव्य ज्यान र चोरी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) गोपीकृष्ण सुवेदीले बताउनुभयो ।
सर्लाहीको बसबरियाका होसनारायण राय यादवको हत्या आरोपमा पक्राउ परेका सन्तोषकुमार रायलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिँदै ।
- गोरखापत्र अनलाइन बाट