धरान/ सुनसरीको धरान–१६ स्थित कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक युएन नवोदय कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को परीक्षामा सफल भएका आफ्ना विद्यार्थीलाई विशेष कार्यक्रममार्फत सम्मान तथा बधाई दिएको छ।
कलेजको सभाहलमा आयोजित कार्यक्रममा साइन्स, म्यानेजमेन्ट तथा कम्प्युटर म्यानेजमेन्ट संकायबाट उत्तीर्ण भएका सबै विद्यार्थीलाई खादा ओढाएर सम्मान गर्दै सफल भविष्यको शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कलेजका प्रबन्ध निर्देशक ज्ञानेश्वर झाले गरेका थिए।
उनले यस वर्ष कक्षा १२ को परीक्षामा विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट नतिजाले युएन नवोदय कलेजको शैक्षिक गुणस्तर पुनः प्रमाणित गरेको बताए।
विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर सहयोगका कारण कलेजले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्दै आएको उनको भनाइ थियो। उनले सफल सबै विद्यार्थीलाई बधाई दिँदै उच्च शिक्षा र करियरका लागि शुभकामना व्यक्त गरे।
कार्यक्रममा होटल म्यानेजमेन्ट कोर्डिनेटर गगनमान श्रेष्ठले होटल म्यानेजमेन्ट अध्ययनका सम्भावना, रोजगारीका अवसर तथा यस क्षेत्रको बढ्दो महत्वबारे जानकारी गराएका थिए।
कार्यक्रम सञ्चालन कलेजका पब्लिक रिलेसन्स अफिसर रामबहादुर लिम्बूले गरेका थिए। उनले विद्यार्थीहरूको सफलतालाई सम्मान गर्दै आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा प्रेरणा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
लिम्बूका अनुसार यस वर्ष युएन नवोदय कलेजबाट कक्षा १२ परीक्षामा अधिकतम ३.८२ जीपीए सहित १९४ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
यो उपलब्धिले कलेजको शैक्षिक उत्कृष्टतालाई थप सुदृढ बनाएको उनको भनाइ छ।
