तथ्यांक अभावले धरानमा बढ्दो सवारी पार्किङ समस्या समाधानको योजना बन्न सकेको छैन

  • असार १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt – डोलेश्वर तिम्सिना (फडिन्द्र)

धरान/ पूर्वी नेपालको पर्यटकीय शहर धरान उपमहानगरपालिका अचेल एउटा विचित्रको विरोधाभासबाट गुज्रिरहेको छ ।

एकातिर सहरको आधुनिकता र विकासको चर्चा छ भने अर्कोतिर सहरको मुख्य मेरुदण्ड कोशी राजमार्ग र बजारका भित्री सडकहरू ‘अव्यवस्थित पार्किङ’ का कारण कुरुप र साँघुरा बन्दै गएका छन् ।

भानुचोकदेखि छाताचोक र लक्ष्मी चोक सम्मको क्षेत्रमा सवारी साधनको चाप यति बढेको छ कि अब सडक केवल हिँड्नका लागि मात्र होइन, सवारी थुपार्ने थलोका रूपमा परिणत हुन थालेको छ ।

तथ्याङ्कको अन्योल र सवारीको बाढी

धरानमा कति सवारी साधन छन ? यो तथ्यांक उपमहानगरपालिकामा छैन, न त यातायात कार्यालयले राखेको छ । यातायात व्यवस्था विभाग, नगरपालिका, ट्राफिक प्रहरी र यातायात व्यवसायीहरूको अनुमानित तथ्याङ्क अनुसार धरानमा २, ३, ४ र ८ पाङग्रे करिब डेढ लाख सवारी साधन सञ्चालनमा छन् ।

केही वर्ष यता धरानमा निजी सवारी साधन, विशेष गरी मोटरसाइकल र स्कुटर ठूको सङ्ख्यामा बढेको छ । विडम्बना के छ भने, नगरपालिकासँग नगर क्षेत्रभित्र गुड्ने सवारी साधनको यकिन र व्यवस्थित तथ्याङ्क छैन । तथ्याङ्क नहुँदा पार्किङको दीर्घकालीन व्यवस्थापन योजना तर्जुमा गर्न नगरपालिकालाई कठिनाइ भइरहेको छ ।

धरान उपमहानगरपालिकाका वरिष्ठ कर अधिकृत खगेन्द्र प्रसाद खतिवडा भन्छन्, “नगरपालिका व्यवस्थित पार्किङका लागि प्रयासरत त छ, तर हामीसँग नगरभित्र कति सवारी छन् भन्ने यकिन डाटा छैन ।’ कुनै पनि योजना सफल बनाउन सुरुमा डाटा संकलन गर्नु अनिवार्य देखिन्छ, तर अहिले तथ्याङ्क संकलन र व्यवस्थापनका लागि प्रारम्भिक तयारी मात्र भैरहेको उनले बताए ।

शुल्क तिर्न तयार, ठाउँ चाहियो

बजार क्षेत्रमा सवारी चलाउने चालकहरू यहाँको लथालिङ्ग अवस्थाबाट आजित छन्। धरान–१६ का टेम्पो चालक हेमराज भुजेल भन्छन्, “उपमहानगरपालिकाले टेम्पो पार्किङ र स्टेन्डको व्यवस्था गरिदिए हामी शुल्क तिर्न पनि तयार छौं।”

धरान–८ का टेम्पो चालक राजकुमार राई र धरान–१५ का सन्तोष तामाङ दुवै “जथाभावी पार्किङले ट्राफिक जाम मात्र बढाउँदैन, दुर्घटनाको जोखिम पनि बढाउँछ। शुल्क लिएर भए पनि व्यवस्थित पार्किङ बनाइनुपर्छ।“

सफारी चालकहरू पनि सुरक्षित पार्किङको खोजीमा छन्। धरान–१५ का विक्रम लिम्बू, धरान–१७ का मनोज श्रेष्ठ र धरान–११ का नवराज मगर भन्छन्, “चालकलाई नियम मात्र लगाउने होइन, सवारी राख्ने ठाउँ पनि दिनुपर्छ। व्यवस्थित पार्किङ भवन वा खुला ठाउँ भए शुल्क तिर्न हामीलाई कुनै समस्या छैन।“

मोटरसाइकल चालकहरू सुरेश कार्की, रमेश गुरुङ र दिपेश राई पनि सुरक्षित पार्किङको अभावमा सडकमा सवारी छाड्न बाध्य छन्। उनीहरू भन्छन्, “सेवा राम्रो भए शुल्क तिर्न कसैले आपत्ति गर्दैन।“

व्यवसायीको चिन्ता वेग्लै

पुतलीलाइनका व्यवसायी राजन श्रेष्ठ र सब्जीमण्डीका व्यापारी विकास अग्रवालका अनुसार पार्किङको अभावले व्यापारिक गतिविधिमा प्रत्यक्ष असर परेको छ। श्रेष्ठले भने “ग्राहकले सवारी राख्ने ठाउँ नपाउँदा किनमेल नगरी फर्किने अवस्था छ, ।’

व्यवसायीहरू सन्तोष राई, प्रेम तामाङ र रमेश साहले धरानको व्यापारिक छवि बचाउन पनि आधुनिक पार्किङ प्रणाली आवश्यक रहेको बताए । व्यवसायी दिपक लिम्बू बहुउद्देश्यीय पार्किङ भवन निर्माणले समस्याको समाधान हुनसक्ने बताउँछन् ।

ट्राफिक र यातायात व्यवसायी

ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख अनिल मावोहाङका अनुसार धरानको ट्राफिक समस्या जटिल हुनुमा साँघुरा सडक, पार्किङ अभाव र चालकहरूको अनुशासनहीन व्यवहार मुख्य हुन्। उनी भन्छन्, “सीमित जनशक्तिले मात्र पुग्दैन, दीर्घकालीन समाधानका लागि बहुउद्देश्यीय पार्किङ भवन अनिवार्य भइसक्यो।“

नेपाल यातायात व्यवसायी महासंघका कोशी संयोजक सरोज श्रेष्ठले अहिले सार्वजनिक सडक, राजमार्गलाई नै पार्किङस्थल बनाएर शुल्क उठाउनु उचित नहुने बताउँदै भने “नगरपालिकाले छुट्टै पार्किङ लट वा भवन निर्माण गरेर सेवा दिनुपर्छ, सडकमै शुल्क उठाउनुले व्यवसायी र यात्रुमाथि थप भार हो ।“

एकतर्फी प्रणाली र भावी योजना

पार्किङ व्यवस्थापन र सडक सुरक्षाकै लागि नगरपालिकाले २०८१ सालदेखि सहरका मुख्य क्षेत्रमा ‘एकतर्फी’ वान–वे सवारी आवागमन प्रणाली सुरु गरेको छ। कार्यवाहक नगर प्रमुख आइन्द्र विक्रम बेघा धरानलाई व्यवस्थित बनाउने अभियानमा लागिरहेको बताउँछन्।

उनी भन्छन्, “हामी धरानलाई सुन्दर र सुरक्षित सहर बनाउन प्रयत्नशील छौँ। सडकमा हुने पार्किङले सहरको छवि बिगारेको छ। त्यसैले हामीले निश्चित ठाउँहरू पहिचान गरेर व्यवस्थित पार्किङ स्थल निर्माण गर्ने र राजमार्गलाई पार्किङमुक्त बनाउने प्रयास गरिरहेको छौँ।“

समाधानका चार आधार

१. यकिन तथ्याङ्क संकलनः वरिष्ठ कर अधिकृत खतिवडाले भनेजस्तै, नगरपालिकाले सबैभन्दा पहिले नगरभित्रका सवारीको डिजिटल डाटाबेस तयार गर्नुपर्छ। यसले कुन क्षेत्रमा कस्तो पार्किङ चाहिन्छ भन्ने स्पष्ट पार्छ।

२. सार्वजनिक सवारी र पैदल यात्राको प्रवद्र्धनः निजी सवारीको प्रयोग घटाउन व्यवस्थित नगर बस सेवा सुरु गर्नुपर्छ। यस्तै, भानुचोकदेखि मुख्य बजारका क्षेत्रहरूमा पैदल हिँड्ने संस्कृतिको विकास गर्नुपर्छ। “पसलको ढोकैसम्म मोटरसाइकल लैजाने“ बानीमा परिवर्तन आवश्यक छ।

३. पार्किङ शुल्क र पूर्वाधारः सडकमा पार्किङ गर्दा लाग्ने शुल्कलाई महँगो बनाउने र अफ–स्ट्रिट (सडक बाहिर) पार्किङलाई सस्तो वा व्यवस्थित बनाउने नीति लिन सकिन्छ। संकलित शुल्कलाई पार्किङ भवन निर्माणमै खर्चिनुपर्छ।

४. स्मार्ट व्यवस्थापनः मोबाइल एपमार्फत पार्किङ स्पेस बुक गर्ने र शुल्क तिर्ने प्रविधिको प्रयोग गर्दा पारदर्शिता बढ्छ र जाम कम हुन्छ।

निष्कर्ष

धरानको सडकमा देखिएको पार्किङ संकट केवल जग्गाको अभाव होइन, यो व्यवस्थापन र योजनाको पनि अभाव हो। डेढ लाख सवारी साधनको चापलाई अब केवल ट्राफिक प्रहरीको सिट्ठीले मात्र नियन्त्रण गर्न सकिँदैन।

धरानमा ट्राफिक ब्यबस्थापनका लागि रिसर्च गरेर तथ्याङ्क संकलनबाट काम सुरु गर्नु जरुरी देखिन्छ । कार्यवाहक नगर प्रमुख बेघाको योजना अनुसार भौतिक पूर्वाधार (पार्किङ भवन) निर्माणमा जुट्नुपर्छ।

सडकलाई पार्किङ स्थल होइन, आवागमनको मार्ग बनाउनु नै आजको मुख्य आवश्यकता हो। सहरबासीले पनि ‘थोरै टाढा पार्क गरेर पैदल हिँड्ने’ र ‘सार्वजनिक सवारी रोज्ने’ बानी बसाल्न सके मात्र धरानको साख जोगिनेछ।

 

पुलिस र डिपोट स्कुल ...

धरान/ १२औँ मनमोहन स्मृति अन्तरविद्यालय फुटबल प्रति ...

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved