धरान/धरानस्थित मेघा हिमालयन कलेजले कक्षा–११ मा भर्ना भएका विज्ञान (साइन्स) संकायका नवआगन्तुक विद्यार्थीहरूलाई शनिबार मोरङको बेतना सिमसार क्षेत्रमा अध्ययन तथा अवलोकन भ्रमण गराएको छ।
विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित ज्ञानलाई व्यवहारिक अनुभवसँग जोड्ने उद्देश्यले आयोजित भ्रमणमा सिमसार क्षेत्रका जैविक विविधता, वनस्पति तथा वातावरणीय महत्वबारे प्रत्यक्ष अध्ययन गराइएको थियो।
कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरे ले अवलोकन भ्रमणको सुरुवातमा विद्यार्थीहरूलाई सिमसार क्षेत्रमा अध्ययन गर्नुपर्ने विषयवस्तु तथा अवलोकनका मुख्य पक्षबारे अभिमुखीकरण गराएका थिए।
उनले भ्रमणपछि विद्यार्थीहरूले अवलोकनका आधारमा परियोजना (प्रोजेक्ट) कार्य तयार गरी सम्बन्धित शिक्षकलाई बुझाउनुपर्ने जानकारी दिए।
बेतना सिमसारका कर्मचारी प्रमुख धनबहादुर राई ले ‘बेत’ प्रजातिको वनस्पति पहिले प्रशस्त पाइने भएकाले यस क्षेत्रको नाम ‘बेतना’ रहन गएको जानकारी गराए।
उनका अनुसार बेतना सिमसार करिब १७५ हेक्टर क्षेत्रफल मा फैलिएको छ र यहाँ रहेका ६ वटा पैनी मार्फत करिब १२ सय बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ।
राईले सिमसार क्षेत्रमा १०० देखि १५० प्रजातिसम्मका पुतली, विभिन्न जलचर तथा वन्यजन्तु पाइने जानकारी दिए। उनले साइबेरियालगायत उत्तरी क्षेत्रबाट बसाइँ सरेर आउने चराहरू कार्तिकको दोस्रो सातादेखि फागुनको दोस्रो सातासम्म बेतनामा बस्ने गरेको उल्लेख गर्दै मौसम अनुकूलताका कारण ती चराहरू नेपाल आउने गरेको बताए।
त्यसैगरी, सिमसार क्षेत्रमा ६ प्रजातिका कछुवा पाइने तथ्य लामो अनुसन्धानपछि झापाका डा. आर.के. खम्बुले पत्ता लगाएको जानकारी पनि विद्यार्थीहरूलाई दिइएको थियो।
अवलोकनका क्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
भ्रमणपछि छात्राहरू खुसी लिम्बू, स्टेला श्रेष्ठ र एसा लिम्बू ले पुस्तकमा अध्ययन गरिएका विषयवस्तुलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न पाउँदा सिकाइ अझ प्रभावकारी बनेको प्रतिक्रिया दिए।
अध्ययन भ्रमणमा कलेजका प्रिन्सिपल भास्कर पौडेल, दीपक घिमिरे, राजेश विद्रोही, नवराज दाहाल, जीवन न्यौपाने लगायत शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
कलेजका अनुसार यस्ता अध्ययन भ्रमणले विद्यार्थीहरूमा अनुसन्धानमूलक सोच, वातावरणीय चेतना तथा व्यवहारिक ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।