धरान/ इटहरीको कामधेनु दुग्ध विकास सहकारी संस्थासँग जोडिएको कर्मचारी आत्महत्या प्रकरणले नयाँ कानुनी मोड लिएको छ।
झापा जिल्ला अदालतले आत्महत्या दुरुत्साहन मुद्दामा फरार रहेका दुई प्रतिवादी रञ्जितकुमार झा र शेरबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि घटनाले पुनः चर्चा पाएको हो।
अदालतले दुवै प्रतिवादीलाई खोजी गरी तत्काल उपस्थित गराउन इलाका प्रहरी कार्यालय दमकलाई निर्देशन दिएको छ। अदालतका अनुसार पटक–पटक उपस्थित हुन भनिए पनि सम्पर्कमा नआएपछि उनीहरूलाई फरार प्रतिवादीको सूचीमा राख्दै पक्राउ पुर्जी जारी गरिएको हो।
यो मुद्दा कामधेनु दुग्ध विकास सहकारी संस्थाका कर्मचारी प्रेमप्रसाद मिश्रको रहस्यमय आत्महत्यासँग सम्बन्धित छ।
मिश्र २०८२ कात्तिक १७ गते गौरादहस्थित आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। घटनापछि फेला परेको ‘सुसाइड नोट’ले अनुसन्धानलाई नयाँ दिशातर्फ मोडेको थियो।
उक्त नोटमा मिश्रले सहकारीका तत्कालीन मार्केटिङ म्यानेजर रञ्जितकुमार झा तथा बजार प्रतिनिधि शेरबहादुर खड्काबाट आफूले निरन्तर दबाब, मानसिक तनाव र असहज कार्य वातावरण भोग्नुपरेको उल्लेख गरेका थिए। सोही आधारमा प्रहरीले आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा अघि बढाएको थियो।
जिल्ला सरकारी वकिल कार्यालयमार्फत नेपाल सरकार वादी बनेको यस मुद्दामा कमल मिश्र र तेजप्रसाद सुवेदी जाहेरीकर्ता रहेका छन्। अनुसन्धानका क्रममा प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराउन विभिन्न प्रयास भए पनि उनीहरू सम्पर्कविहीन बनेपछि अदालतले कडा कदम चालेको हो।
अदालतले रञ्जितकुमार झाका नाममा प्रारम्भिक ७ दिनको पक्राउ पुर्जी जारी गरेको छ भने सो अवधिमा उपस्थित नभए थप ३५ दिनको अवधि लागू गरिने जनाएको छ। शेरबहादुर खड्काका नाममा भने सिधै ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको छ।
प्रहरीले अदालतको आदेशपछि फरार दुवै प्रतिवादीको खोजी कार्य तीव्र बनाएको छ। यस घटनाले सहकारी संस्थाभित्रको कार्यसंस्कृति, कर्मचारीमाथिको मानसिक दबाब र व्यवस्थापकीय व्यवहारबारे गम्भीर प्रश्न उठाएको छ।
अब अदालतले तोकेको समयसीमाभित्र प्रतिवादीहरू उपस्थित नभए कानुनअनुसार अनुपस्थितिमै मुद्दा अगाडि बढ्नेछ। बहुचर्चित बनेको यो प्रकरणको आगामी कानुनी प्रक्रियालाई चासोका साथ हेरिएको छ।
