धरान/ धरानस्थित युएन, नवोदय कलेज पढ्ने विद्यार्थी राष्ट्रिय खगोलशास्त्र प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
कक्षा–१२ विज्ञान सङ्कायका विद्यार्थी प्रशन्न श्रेष्ठ १३ औं राष्ट्रिय खगोलशास्त्र प्रतियोगिता–२०२६ को फाइनल चरण (तेस्रो चरण) मा छनोट भएका हुन् ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) द्वारा आयोजित प्रतियोगिताको दोस्रो चरण (नेशनल लेभल) मा उत्कृष्ट प्रदर्शन गर्दै श्रेष्ठले अन्तिम चरणमा स्थान सुरक्षित गरेका हुन् ।
देशभरबाट हजारौँ विद्यार्थी सहभागी भएको प्रतियोगितामा उत्कृष्ट प्रतिस्पर्धीहरू मात्र छनोट हुँदै फाइनल चरणमा पुगेका छन् । कोशी प्रदेशबाट फाइनलका लागि छनोट हुने तीन विद्यार्थीमध्ये श्रेष्ठ पनि एक हुन् ।
कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले कलेजका विद्यार्थीहरू शैक्षिक क्षेत्रसँगै अतिरिक्त क्रियाकलाप र विभिन्न राष्ट्रियस्तरका प्रतियोगिताहरूमा पनि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको उल्लेख गरे ।
उनले प्रशन्न श्रेष्ठको उपलब्धिप्रति खुसी व्यक्त गर्दै आगामी फाइनल चरणका लागि सफलताको शुभकामना दिएका छन् ।
कलेजका पब्लिक रिलेसन अफिसर रामबहादुर लिम्बूका अनुसार श्रेष्ठको यो उपलब्धि व्यक्तिगत सफलतामात्र नभई धरान र कलेजकै लागि गर्वको विषय बनेको छ।
उनले विज्ञान तथा अनुसन्धानप्रतिको विद्यार्थीहरूको रुचि र मेहनतले यस्तो सफलता सम्भव भएको बताए ।
प्रतियोगिताको अन्तिम चरण काठमाडौंमा सञ्चालन हुने क्लोज्ड क्याम्प तथा अन्तर्वार्तासहितको मूल्याङ्कन प्रक्रियामार्फत सम्पन्न हुनेछ ।
उक्त चरणबाट उत्कृष्ट विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय खगोल शास्त्र प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
धरानका युवा प्रतिभा प्रशन्नको यो सफलता विज्ञान शिक्षाप्रति आकर्षित हुने नयाँ पुस्ताका लागि प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ ।
युएन, नवोदय कलेजले पनि यस उपलब्धिलाई संस्थाको शैक्षिक उत्कृष्टताको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ ।
धरानबाट राष्ट्रिय मञ्च हुँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ उन्मुख प्रशन्नको यात्रा अहिले धेरै विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ ।