फाईल तस्बिर
धरान/सुनसरीको पूर्व–पश्चिम राजमार्गमा साइडमा रोकिएको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल सडक किनारमा टायर पञ्चर भई रोकिएको को१ख ५१२८ नम्बरको टिपरमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका थिए।
टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई उपचारका लागि विराट नर्सिङ होम लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार अन्य दुई जना २० वर्षीय आर्यन चौधरी र २८ वर्षीय आशिष चौधरी घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।
इलाका प्रहरी कार्यालय रामधुनीका प्रहरी निरीक्षक हरि सुवेदीका अनुसार टिपर टायर पञ्चर भई सडक किनारमा रोकिएको अवस्थामा थियो।
दुर्घटनापछि टिपर चालक कोशी गाउँपालिका–३ निवासी ४८ वर्षीय लालमोहमद मियाँ प्रहरीको सम्पर्कमा रहेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकल चालकले सडकमा पर्याप्त ध्यान नदिनु तथा तीव्र गतिका कारण दुर्घटना भएको निष्कर्ष निकालिएको छ।