धरान/ लगातार तीन दिनको सार्वजनिक बिदापछि सोमबार उपचारका लागि आउने विरामीको संख्या उल्लेख्य रूपमा बढ्ने अनुमान गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपीडी सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विशेष तयारी गरेको छ।
विरामीको चापलाई मध्यनजर गर्दै प्रतिष्ठानले थप ओपीडी पुर्जा वितरण काउन्टर सञ्चालन गर्ने निर्णय गरेको हो।
प्रतिष्ठानका अनुसार पछिल्ला केही सातायता उपचारका लागि आउने सेवाग्राहीको संख्या निरन्तर बढिरहेको छ। त्यसमा पनि लगातार तीन दिनको बिदापछि सोमबार एकैदिन हजारौं विरामी उपचारका लागि आउने अनुमान गरिएकाले सेवा प्रवाहलाई सहज, छिटो र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा गरिएको जनाएको छ।
प्रतिष्ठानका निमित्त उपकुलपति डा. इन्द्र लिम्बु का अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिने विरामीका लागि जीओडी भवनमा १२ वटा काउन्टर सञ्चालन गरिनेछ। यस्तै, स्वास्थ्य बीमा नभएका तथा शुल्क तिरेर उपचार सेवा लिने सेवाग्राहीका लागि थप ५ वटा काउन्टर सञ्चालन गरिने व्यवस्था मिलाइएको छ।
यससँगै सोमबार कुल १७ वटा काउन्टरमार्फत ओपीडी पुर्जा वितरण गरिनेछ।
सरकारले लागू गरेको दुई दिनको साप्ताहिक बिदापछि बीपी प्रतिष्ठानमा विरामीको चाप उल्लेखनीय रूपमा बढेको छ। गत साता मात्रै एकै दिन ४ हजार २ सयभन्दा बढी विरामीले प्रतिष्ठानबाट स्वास्थ्य सेवा लिएका थिए। निजी अस्पतालहरूमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि उपचारका लागि बीपी प्रतिष्ठान रोज्ने सेवाग्राहीको संख्या झनै बढ्दै गएको छ।
प्रतिष्ठानले सोमबार मात्रै ५ हजारभन्दा बढी विरामी ओपीडी सेवाका लागि आउन सक्ने प्रक्षेपण गरेको छ। सोही अनुसार आवश्यक जनशक्ति परिचालन, काउन्टर व्यवस्थापन, सेवा समन्वय तथा अन्य प्रशासनिक तयारी पूरा गरिएको जनाएको छ।
भर्ना भएका विरामी तथा उनीहरूका आफन्तलाई सहजता प्रदान गर्न सम्बन्धित वार्डमै छुट्टै काउन्टर सञ्चालन गर्ने व्यवस्था समेत मिलाइएको छ। विरामीको भीडका कारण सेवा लिन घण्टौं लाइन बस्नुपर्ने अवस्था कम गर्न प्रतिष्ठानले व्यवस्थापन पक्षलाई थप सुदृढ बनाएको जनाएको छ।
बढ्दो विरामी चापका बीच सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित गरिएको यो तयारीले सोमबार स्वास्थ्य सेवा लिन आउने हजारौं सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।