उदयपुर/ उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खाना खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन् भने एक जनाको अवस्था गम्भीर बनेको छ।
स्थानीयका अनुसार २३ वर्षीया हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी तथा नन्दहरू १४ वर्षीया यशोदा र ९ वर्षीया यासिका बुढाथोकी शनिबार राति घरमा पकाइएको मुसुरोको दालसहितको खाना खाएपछि अचानक बिरामी परेका हुन्।
खाना खाएलगत्तै उनीहरूमा बान्ता हुने र बेहोस हुनेजस्ता लक्षण देखिएपछि आफन्त र छिमेकीले तत्काल जिल्ला अस्पताल उदयपुर पुर्याएका थिए।
अस्पतालका अनुसार तीन जना उपचारपछि घर फर्किएका छन् भने हेमा बुढाथोकीको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि विराटनगर पठाइएको छ।
हेमाका श्रीमान् युवराज बुढाथोकी वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन्। घटनापछि स्थानीयवासीमा चिन्ता बढेको छ।