धरान/ श्रमजिबी महिला पत्रकारद्वारा प्रकाशित तथा सम्पादित दिव्य रोशनी साप्ताहिक ले आफ्नो २२औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ।
शुक्रबार धरान उपमहानगरपालिकाकाे सभाहल मा आयोजित कार्यक्रममा पत्रिकाले आफ्नो स्थापना दिवस मनाउँदै पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान पुर्याएका ५ जना व्यक्तित्वलाई सम्मान गरेको हो।
धरानबाट विशेष रूपमा मनिता चाम्लिङ र सागर सिन्जाली मगर द्वारा सम्पादित तथा प्रकाशित दिव्य रोशनी साप्ताहिक ले २१ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो।
पत्रिकाका प्रबन्ध निर्देशक सागर सिन्जाली मगरका अनुसार, वार्षिकोत्सवको अवसरमा धरानलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका चार पत्रकार र एक सामाजिक अभियन्तालाई नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो।
पत्रिकाकी सम्पादक/प्रकाशक मनिता चाम्लिङका दिवंगत जेठा दाजु स्व. राजु राईको नाममा स्थापित “युवा पत्रकारिता सम्मान” कोले न्युजका पत्रकार रोहित कुलुङ राई सम्मानित भए।
यस्तै, दिवंगत कान्छा दाजु स्व. बाजुन राईको नाममा स्थापित “सृजनशील युवा पत्रकारिता सम्मान” बाट पत्रकार खिलानाथ विश्वकर्मा सम्मानित भए।
यस्तै सम्पादक/प्रकाशक चाम्लिङका दिवंगत बुवा स्व. प्रभुराम राईको नाममा स्थापित “उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान” बाट पुरुषतर्फ निमा पोङ्सवा र महिलातर्फ चलचित्र पत्रकार संघ कोशी प्रदेशकी पूर्व अध्यक्ष सन्जु राई सम्मानित भए।
सम्मानित पत्रकारहरूलाई जनही रु. ५ हजार ५ रुपैयाँ, सम्मानपत्र र खदासहित सम्मान गरिएको थियो।
त्यसैगरी “उत्कृष्ट सामाजिक अभियन्ता सम्मान” बाट पब्लिक हाई स्कुल धरान का प्रधानाध्यापक डा. इन्द्रमोहन झा सम्मानित भएका थिए।
सम्मान कार्यक्रमका प्रमुख अतिथि धरानका कार्यवाहक मेयर अहिन्द्र विक्रम बेघा र पत्रिकाकी सम्पादक मनिता चाम्लिङले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए।