इटहरी/ मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा विद्यालय निर्वाचन–२०८३ उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।
वि.सं.२०४९ सालदेखि इटहरीमा स्थापित विद्यालयले विद्यार्थीहरूमा लोकतान्त्रिक संस्कार, नेतृत्व विकास र जिम्मेवारी बहन गर्ने क्षमताको अभिवृद्धि गर्ने उद्देश्यसहित मंगलबार विद्यालय परिसरमा निर्वाचन सम्पन्न गरेको हो।
इटहरी–६ स्थित विद्यालयमा हाल नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुँदै आएको छ। नयाँ शैक्षिक सत्रसँगै आयोजित निर्वाचनमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले उत्साहजनक रूपमा आफ्नो मताधिकार प्रयोग गरेका थिए।
निर्वाचन अन्तर्गत स्कुल क्याप्टेन, सह-क्याप्टेन, विभिन्न हाउस क्याप्टेन तथा क्लब प्रेसिडेन्ट सहित विभिन्न पदका लागि मतदान भएको थियो, जसमा ३० जना विद्यार्थी प्रतिस्पर्धामा उत्रिएका थिए।
विद्यालयका शैक्षिक संयोजक तथा प्रमुख चुनाव आयुक्त छवि रमण भण्डारीका अनुसार निर्वाचन प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको छ।
मतगणना जेठ ६ गते हुने तथा निर्वाचित विद्यार्थीहरूको सपथ ग्रहण कार्यक्रम जेठ ७ गते आयोजना गरिने जानकारी दिइएको छ।
विद्यालयका प्राचार्य पद्मराज सापकोटा र सह-प्राचार्य रमेश प्रसाद निरौला निर्वाचनका पर्यवेक्षकको भूमिकामा रहेका थिए।
विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध र लोकतान्त्रिक अभ्यास थप मजबुत हुने विश्वास व्यक्त गरेको छ।
