धरान/ २०८२ सालको एसईई परिक्षा उत्तिर्ण विद्यार्थीलाई धरान –१६ मा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था नवोदय विद्या मन्दिर इंग्लिश बोर्डिङ स्कूल ले एसईई (SEE) परीक्षामा उत्कृष्ट नतिजासहित उत्तीर्ण हुन सफल आफ्ना विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूलाई सम्मान गर्दै भव्य कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयले सदाझै यस वर्ष पनि शतप्रतिशत (१०० प्रतिशत) नतिजा हासिल गरेपछि खुसीयालीस्वरूप विशेष सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको हो।
युएन कलेज र नवोदय विद्या मन्दिरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल डम्बर कुमार तुम्बापो, अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर ज्ञानेश्वर झा र कार्यक्रम संयोजक निर कुमार राई ले विद्यार्थीहरूलाई टिका, खादा र प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गर्नुभयो।
कार्यक्रममा विद्यार्थी मात्र होइन, उनीहरूको सफलतामा महत्त्वपूर्ण योगदान पुर्याउने अभिभावकहरूलाई पनि विशेष सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल डम्बर कुमार तुम्बापोले नवोदयबाट एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि कक्षा ११ र १२ अध्ययन गर्न युएन कलेजमा विशेष छात्रवृत्ति योजना घोषणा गर्नुभयो।
उहाँका अनुसार नवोदयका सबै विद्यार्थीले युएन कलेजमा भर्ना हुँदा कुल शुल्कमा ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् भने एसईईमा ‘ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ।
उहाँले कक्षा ११ र १२ लाई विद्यार्थी जीवनको ‘आधारस्तम्भ’ भएको उल्लेख गर्दै सही कलेज छनोट गर्न विद्यार्थी तथा अभिभावकलाई आग्रह गर्नुभयो।
युएन कलेज धरानकै मात्रै नभएर काेशी प्रदेशकै एक स्थापित शैक्षिक ‘ब्रान्ड’ भएको बताउँदै उहाँले यहाँ होटल व्यवस्थापन, विज्ञान, व्यवस्थापन र कम्प्युटर विज्ञान विषयमा व्यवहारिक र गुणस्तरीय शिक्षा प्रदान हुँदै आएको जानकारी दिनुभयो।
विशेषगरी होटल व्यवस्थापन अध्ययन गर्ने विद्यार्थीहरूका लागि युएन कलेजले Hong Kong, United Arab Emirates, France र Thailand जस्ता मुलुकहरूमा आम्दानीसहितको इन्टर्नसिप को अवसर उपलब्ध गराउँदै आएको दाबी गर्दै उहाँले “पढ्दै कमाउँदै” गर्ने वातावरण निर्माण गरिएको बताउनुभयो। साथै, बजारमा फैलिएका भ्रमपूर्ण विज्ञापनको पछि नलाग्न अभिभावक र विद्यार्थीलाई सचेत गराउनुभयो।
कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञानेश्वर झाले विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकको विश्वासकै कारण नवोदयले वर्षेनि उत्कृष्ट नतिजा हासिल गर्दै आएको उल्लेख गर्नुभयो।
कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकहरूले सफलताको केक काटेर खुसीयाली मनाएका थिए।
विद्यालय व्यवस्थापनले आफ्नै संस्थाका विद्यार्थीहरूले उच्च शिक्षाका लागि अन्यत्र भौतारिनु नपरोस् र सहुलियत शुल्कमै गुणस्तरीय शिक्षा पाउन सकून् भन्ने उद्देश्यले यस्तो योजना ल्याइएको जनाएको छ।