श्रम संस्कृति पार्कमा सारङ्गीको स्वर : पुस्तौंदेखिको पेसा जोगाउँदै

  • वैशाख २३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानस्थित श्रम संस्कृति पार्कमा हरेक दिन मधुर सारङ्गीको धुन गुञ्जिन्छ। त्यही धुनसँगै आफ्नो पुर्ख्यौली पेसा जोगाउँदै अघि बढिरहेका छन्—सुवास गन्धर्व र सुजन गन्धर्व।

सुवासले विगत २५ वर्षदेखि सारङ्गी रेट्दै गीत गाउँदै आएका छन् भने सुजनले पनि आठ वर्षदेखि यही यात्रामा साथ दिइरहेका छन्।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उनीहरू पार्कमा एकजनाले मादल बजाउने र अर्काले सारङ्गीको धुनमा गीत गाउने दैनिकीमा व्यस्त हुन्छन्।

उनीहरूको प्रस्तुति केवल मनोरञ्जनमा सीमित छैन, यही नै उनीहरूको जीविकोपार्जनको मुख्य आधार बनेको छ। पार्क घुम्न आउने सर्वसाधारण तथा पर्यटकले स्वेच्छाले दिएको सहयोगबाट उनीहरूको गुजारा चलिरहेको छ।

“बाउबाजेले सारङ्गी बजाएरै हामीलाई हुर्काउनुभयो, मैले पनि त्यही परम्परा समातेको हुँ,” सुवास भन्छन्।

उनका अनुसार पहिले गाउँ–गाउँ पैदल यात्रा गरेर गीत गाउने चलन थियो, तर अहिले यातायातको सुविधा बढे पनि संघर्ष भने उस्तै छ।

नेपालका पूर्वदेखि पश्चिमसम्म मात्र नभई भारतको सिक्किम र दार्जिलिङसम्म पुगेर गीत गाइसकेका सुवास ‘भ्वाइस अफ नेपाल’ को ब्याटल चरणसम्म पुगेका कलाकार हुन्।

‘इन्द्रेणी’ जस्ता कार्यक्रममार्फत पनि उनले आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका छन्।

तर ठूला मञ्चबाट अपेक्षित आम्दानी नभएपछि उनी फेरि सार्वजनिक स्थलमै फर्किए—जहाँ कला र जीवन सँगसँगै अघि बढिरहेका छन्।

उता, लामो समय दार्जिलिङमा रोजगारी गरेर फर्किएका सुजन गन्धर्व पनि पछिल्ला आठ वर्षदेखि यही पेसामा छन्।

“सारङ्गी बजाएर गीत गाउनु हाम्रो पहिचान हो,” उनी भन्छन्, “तर नयाँ पुस्ता अन्य पेसातर्फ आकर्षित हुँदै जाँदा यस्तो मौलिक कला संकटमा पर्दै गएको छ।”

आधुनिक प्रविधिसँगै मनोरञ्जनका माध्यम बदलिँदै जाँदा गन्धर्व समुदायको परम्परागत पेसा जोगाउन चुनौती थपिएको उनीहरूको अनुभव छ।

नेपालका विभिन्न जिल्लामा फैलिएको गन्धर्व समुदायले परापूर्वकालदेखि नेपाली लोकसङ्गीतको संरक्षण, संवर्द्धन र विकास गर्दै आएको छ। सारङ्गी र मादल उनीहरूको सांस्कृतिक पहिचान मात्र होइन, जीवनको आधार पनि हो।

स्वास्थ्यले साथ दिएसम्म आफूहरू यही पेसामा निरन्तर रहने उनीहरू बताउँछन्—धरानको पार्कमा हरेक दिन, सारङ्गीको मधुर धुनसँगै। 

धरान पिण्डेश्वर बाबा ...

धरान/  प्रत्येक वर्ष साउन महिनामा धरान– ...

हिबिस्कसमा हिज्जे प् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

बराहक्षेत्रमा ब्राउन ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–६, ऐत ...

धरानले सम्झियो आफ्न ...

धरान/ धरान उपमहानगरपालिकाका प्रथम जननिर्वाचित नगर प्रमु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved