-फाइल तस्बिर
झापा/ झापाकाे कचनकवल–३ दलकीस्थित सडक खण्डमा आज बिहान स्कुल बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्।
दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको विद्यापानी सेकेन्डरी स्कुलको बसले बाटोमा निस्किएको मोटरसाइकललाई ठक्कर दिँदा बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। बसमा करिब १८–२० जना विद्यार्थी सवार थिए।
दुर्घटनामा मोटरसाइकल चालक ५२ वर्षीय ओमप्रसाद तिम्सिना घाइते भएका छन् भने अधिकांश विद्यार्थीको अवस्था सामान्य रहेको छ। घाइतेहरूलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पठाइएको छ।
दुर्घटनापछि बस चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेका छन्।