-फणिन्द्र तिम्सिना
धरान/ मुहानको सदुपयोग हुन नसक्दा धरानमा खानेपानीको समस्या यथावत नै रहेको छ ।
धरानमा लामो समय देखिको खानेपानी समस्या समाधान हुन नसक्नु खानेपानीका मुहानहरुको सही सदुपयोग गर्न नसक्नु पनि हो ।
धरानमा खानेपानीको मुख्य स्रोत भनको सेउती र सर्दुका मुहानहरु हुन् । तर सेउती, सर्दुका मुहानहरु सदुपयोग गर्न सकिरहेको छैन । स्थानीय सरकारले खानेपानी समस्या समाधान गर्न केन्द्रिय बजेटको मुख ताकिरहे पनि मुहानहरुको संरक्षणमा भने ध्यान दिएको देखिन्दैन् ।
धरान–१३ को निशाने खोलामा खानेपानी व्यवस्थापनको लापरबाही फेरि उजागर भएको छ । वडाध्यक्ष नेत्र काफ्लेका अनुसार, मुहानमा पानी हुँदाहुँदै पनि प्रभावकारी निगरानी नहुँदा स्रोतको सदुपयोग हुन सकेको छैन ।
स्थानीयका अनुसार मुहानमा वर्षैभरि पानी बगिरहे पनि पाइप जडान भने अर्कै दिशातिर गरिएको छ । जसका कारण पानी एकातिर बगिरहेको छ भने पाइप अर्कोतिर सुक्खा अवस्थामा रहेको छ । ३ इन्चको ठूलो पाइप जडान गरिए पनि त्यसमा नियमित रूपमा पानी आउँदैन ।
बर्खाको समयमा मात्र भरिने र हिउँदमा पूर्ण रूपमा खाली हुने समस्या यथावत छ । तर मुहानको सानो स्रोतलाई समेत व्यवस्थापन गरेर पाइपमा जोड्ने प्रयास नगर्दा पानी खेर गइरहेको देखिन्छ ।
स्थानीयले खानेपानी बोर्डको बेवास्ता र कमजोर अनुगमनका कारण समस्या समाधान हुन नसकेको बताएका छन् ।
उनीहरूका अनुसार उपलब्ध स्रोतलाई सही ढंगले प्रयोग गरेमा कम्तीमा पनि हिउँदमा केही राहत दिन सकिने थियो । यसले देखाउँछ(पूर्वाधार मात्र बनाउनु समाधान होइन, त्यसको सही व्यवस्थापन र निगरानी झन् आवश्यक छ ।