सुनसरी/ धरान–१४ स्थित आइडियल इङ्लिस बोर्डिङ स्कुलले शिक्षण प्रणालीमा सुधार गर्दै आधुनिक, व्यवहारमुखी र गुणस्तरीय शिक्षा लागू गर्ने भएको छ ।
दुई दशकयता उत्कृष्ट नतिजा दिइरहेको सो विद्यालयले काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा व्यवस्थित शैक्षिक रूपान्तरण योजना अघि सारेको हो ।
विद्यालयका निर्देशक सागर खड्काका अनुसार अब लागू गरिने नयाँ योजना शिक्षक, विद्यार्थी र अभिभावक तीनै पक्षलाई समेटेर तयार पारिएको छ, जसले समग्र शिक्षण सिकाइ प्रक्रियामा दीर्घकालीन सुधार ल्याउने विश्वास गरिएको छ ।
शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि महिनामा एकपटक १५ दिनसम्म तालिम सञ्चालन गरिनेछ । तालिममा अनलाइन र प्रत्यक्ष दुवै माध्यम प्रयोग गरिने निर्देशक खड्काले जनाए । यसले शिक्षकहरूमा पढाउने तरिका, सीप, विषयवस्तु बुझाउने शैली तथा प्रविधिको प्रयोगमा सुधार ल्याउने अपेक्षा गरिएको उनले बताए ।
विद्यार्थीहरूको सिकाइ अवस्थालाई निरन्तर मूल्याङ्कन गर्न हरेक दुई त्रैमासिक परीक्षाबिच चारपटक मूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ । यस प्रणालीले विद्यार्थीको प्रगतिलाई नजिकबाट अनुगमन गर्दै कमजोरी पहिचान गरी समयमै सुधार गर्न सहयोग पुर्याउने छ । यसैगरी, कक्षाको गुणस्तर अभिवृद्धिका लागि परीक्षाबिच दुईपटक कक्षा अनुगमन गरिनेछ । त्यस क्रममा शिक्षकको पढाउने तरिकालाई प्रत्यक्ष अवलोकन गरी आवश्यक सुझाव प्रदान गरिने निर्देशक खड्काले बताए ।
विद्यालयले अब परम्परागत घोकाइ पद्धति हटाएर व्यवहारमा आधारित सिकाइलाई प्राथमिकता दिने भएको छ । हप्तामा एकपटक सञ्चालन हुने यस पद्धतिमा विद्यार्थीहरूले विभिन्न परियोजनामार्पmत् आफै काम गरेर सिक्ने अवसर पाउने उनको भनाइ छ । ‘विषयहरूलाई एकआपसमा जोडेर पढाउने प्रणाली पनि लागू गरिनेछ’, खड्काले थपे, ‘जसले सिकाइलाई जीवनोपयोगी र व्यावहारिक बनाउनेछ ।’
गणित विषयलाई अझ सहज र रुचिकर बनाउन नयाँ तरिकाबाट शिक्षण गरिने तथा यसबाट विद्यार्थीमा समस्या समाधान गर्ने क्षमता र विश्लेषणात्मक सोचको विकास गर्ने लक्ष्य राखिएको निर्देशक खड्काले जनाए । यससँगै विद्यालयले समग्र रूपमा आधुनिक शिक्षण प्रणाली लागू गर्न विशेष योजनासमेत कार्यान्वयनमा ल्याउने तयारी गरेको उनले जनाए ।
अभिभावकसँगको सहकार्यलाई सुदृढ बनाउन वर्षमा दुईपटक अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिने, दशैँ–तिहारको समयमा पाठ्यक्रमसम्बन्धी अन्तरक्रिया, वर्षमा चारपटक सिर्जनात्मक कार्यक्रम तथा वर्षमा एकपटक शैक्षिक मेला आयोजना गरिने उनले बताए । शैक्षिक मेलामा विद्यार्थीहरूले आफ्ना परियोजना, अनुसन्धान र सिर्जनात्मक कार्यहरू प्रस्तुत गर्ने अवसर पाउने विद्यालयले जनाएको छ ।
विद्यालयले यसअघि नै प्रविधिमा आधारित कक्षा, डिजिटल पुस्तकालय, भाषा सिकाइका लागि विशेष कक्षा तथा नेपाली सेनासँगको सहकार्यमा अनुशासन र नेतृत्व विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
साथै, अन्तर्राष्ट्रिय अनुभवका लागि विदेश अवलोकन कार्यक्रम र सैनिक परिवारका सन्तानका लागि विशेष छात्रवृत्तिको व्यवस्थासमेत विद्यालयले गरेको छ ।
निर्देशक खड्का भन्छन्, ‘हामीले अब शिक्षालाई किताबमा सीमित नराखी व्यावहारिक, सिर्जनात्मक र प्रतिस्पर्धी बनाउने लक्ष्य लिएका छौँ ।
शिक्षक विकासदेखि विद्यार्थीको सीप अभिवृद्धि र अभिभावकको सहभागितासम्म सबै पक्षलाई समेटेर यो योजना ल्याएका हौँ । विश्वविद्यालयसँगको सहकार्यले आइडियल स्कुललाई अझ उच्च स्तरमा पुर्याउने छ ।’
सुविधासम्पन्न भौतिक संरचना, शान्त र सुरक्षित वातावरण, अनुभवी शिक्षकहरू र स्पष्ट शैक्षिक योजनासहित आइडियल इङ्लिस बोर्डिङ स्कुल अब धरानमै गुणस्तरीय र आधुनिक शिक्षाको भरोसायोग्य केन्द्रका रूपमा स्थापित हुनेतर्फ अघि बढिरहेको उनले बताए ।