धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय आविष्कार केन्द्र बीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानलाई थप सुदृढ बनाउने उद्देश्यसहित समझदारीपत्र मा हस्ताक्षर भएको छ।
प्रतिष्ठानले दीर्घकालीन नीति अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य विस्तार गर्ने क्रममा यो महत्वपूर्ण कदम चालेको हो।
काठमाण्डौमा २०८३ वैशाख २ गते आयोजित विशेष कार्यक्रममा प्रतिष्ठानका तर्फबाट अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद र आविष्कार केन्द्रका तर्फबाट महाप्रबन्धक संजय झा ले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
कार्यक्रममा साक्षीका रूपमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठ र आविष्कार केन्द्रका तर्फबाट उमेश जङ्ग राई सहभागी रहेका थिए।
समझदारीअनुसार अब आविष्कार केन्द्रले प्रतिष्ठानमा प्रयोग भइरहेका सम्पूर्ण बायोमेडिकल उपकरणहरूको नियमित सुपरिवेक्षण, मर्मत तथा आवश्यक पार्टपुर्जा प्रतिस्थापनको जिम्मेवारी लिनेछ।
यसअन्तर्गत केबल, सेन्सर, इलेक्ट्रोनिक तथा मेकानिकल पार्टहरूको मर्मतदेखि पावर सप्लाई व्यवस्थापनसम्मका काम समेटिनेछन्।
यस सहकार्यले उपकरण बिग्रिँदा बाह्य विशेषज्ञको प्रतीक्षा गर्नुपर्ने अवस्था अन्त्य हुने विश्वास गरिएको छ। नियमित मर्मत र सहज उपलब्धताले सेवा प्रवाहमा हुने ढिलाइ हट्ने र बिरामीहरूले अब बिना अवरोध थप गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।
