धरान/ सुनसरी काे धरान - १ मा अवस्थित होली गार्डेन एकेडेमी ले जेहेन्दार तथा मेधावी विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष “आमा–बुवा स्मृति छात्रवृत्ति कार्यक्रम” सार्वजनिक गरेको छ।
कार्यक्रमअन्तर्गत कक्षा ८ मा भर्ना हुने उत्कृष्ट ५ जना विद्यार्थीलाई कक्षा १० सम्म लगातार ३ वर्षका लागि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ।
विद्यालयका प्रिन्सिपल राजेन्द्र कुमार गुरुङ का अनुसार छात्रवृत्ति पूर्ण रूपमा (Merit)का आधारमा छनोट गरिनेछ। छात्रवृत्ति पाउने प्रत्येक विद्यार्थीको तीन वर्षे अध्ययनका लागि करिब २.५ देखि ३ लाख रुपैयाँसम्म विद्यालयले लगानी गर्ने बताइएको छ।
छात्रवृत्तिका लागि कक्षा ७ को वार्षिक परीक्षामा कम्तीमा ३.८ GPA (८० प्रतिशतभन्दा बढी) ल्याएको हुनुपर्नेछ। वार्षिक नतिजा सार्वजनिक नभए पनि इच्छुक विद्यार्थीले प्रवेश परीक्षा दिन पाउनेछन्, तर भर्नाका क्रममा ग्रेडसिट अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
विद्यालयका अनुसार छनोट प्रक्रिया अन्तर्गत दुई चरणमा प्रवेश परीक्षा सञ्चालन हुनेछ, जसबाट उत्कृष्ट ५ जना विद्यार्थी छनोट गरिनेछन्। नयाँ र पुराना दुवै विद्यार्थीका लागि अवसर खुला गरिएको भए पनि बाहिरबाट आउने नयाँ विद्यार्थीलाई प्राथमिकता दिइने जनाइएको छ।
छात्रवृत्ति प्राप्त विद्यार्थीले अध्ययनमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ। शैक्षिक स्तर उल्लेखनीय रूपमा घटेमा वा अनुशासनहीन व्यवहार देखिएमा छात्रवृत्ति रद्द हुन सक्ने प्रावधान पनि राखिएको छ।
विद्यालय व्यवस्थापनका अनुसार यो योजना दिवंगत आमा–बुवाको सम्झनामा सुरु गरिएको हो। संस्थापक पक्षले व्यक्तिगत लगानीमा ल्याएको यस कार्यक्रमले दक्ष, अनुशासित र प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्ने लक्ष्य राखेको छ। साथै, छात्र र छात्रा दुवैलाई समान अवसर प्रदान गरिने विद्यालयले स्पष्ट पारेको छ।
विद्यालयले इच्छुक तथा योग्य विद्यार्थीहरूलाई आवेदन दिन आह्वान गर्दै थप जानकारीका लागि विद्यालय कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
