धरान/ सुनसरीको धरानस्थित पब्लिक हाइ स्कुलले आफ्नो ७९ औँ वार्षिकोत्सवको अवसरमा आइतबार भव्य रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा ६६ युनिट रगत सङ्कलन भएको छ।
कार्यक्रम संयोजक वीरेन्द्रबहादुर साहका अनुसार रक्तदानमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
सङ्कलित रगतमध्ये २१ जना महिला र ४५ जना पुरुषले रक्तदान गरेका थिए। विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको संयोजक साहले जानकारी दिए।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको ब्लड बैङ्कको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रमको उद्घाटन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा।डा। विक्रमप्रसाद श्रेष्ठले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले रक्तदानले मानिसमा सामाजिक र मानवीय भावनाको जागृत गर्ने बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो।