धरान/ सुनसरीको धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा कविता बाचन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । हिबिस्कस बाल क्लबको आयोजनामा सम्पन्न उक्त प्रतियोगिताले विद्यार्थीहरूको सृजनात्मक क्षमता उजागर गर्नुका साथै नेपाली बाल साहित्यप्रति आकर्षण बढाएको छ ।
बाल क्लबका अध्यक्ष आस्था उदासको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि विद्यालयकी प्रिन्सिपल पार्वती लिम्बु रहिन् । कार्यक्रम सञ्चालन सिद्धार्थ श्रेष्ठ र आदित्य झाले गरेका थिए ।
कक्षा ५ देखि ७ सम्मका १५ जना विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा कक्षा ६ की छात्रा प्रनिता तामाङ प्रथम भइन् भने कक्षा ५ का छात्र जोसन लिम्बु द्वितीय स्थानमा रहे । रिभा लिम्बु र एञ्जल राईले संयुक्त रूपमा तृतीय स्थान हासिल गर्दा कक्षा ६ का छात्र आरभ झाले सान्त्वना पुरस्कार प्राप्त गरे ।
कार्यक्रमको निर्णायकको भूमिकामा नेपाली शिक्षिका प्रज्वलिता श्रेष्ठ र नयन राज राई रहेका थिए । कार्यक्रममा शिक्षकहरू सुबास मोक्तान, सुमन राई, बलबहादुर बस्नेत लगायतले पनि कविता वाचन गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।
विद्यार्थीहरूमा साहित्यप्रतिको रुचि अभिवृद्धि गर्दै उनीहरूभित्रको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम हिबिस्कस बाल क्लबको यस वर्षको अतिरिक्त क्रियाकलापको समापनका रूपमा सम्पन्न गरिएको हो ।
विद्यालयका प्रवन्ध निर्देशक गंगाराम राईले कोशी पत्रलाई जानकारी दिँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै सिर्जनात्मक क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।