-
रणध्वज लोहार
पानबारी/ धरान–६ पानबारीको रायचौरी जंगल बस्तीमा स्थानीयवासीले फेरि एकपटक उदाहरणीय काम थालेका छन्।
आवतजावतमा वर्षौंदेखि समस्या झेल्दै आएका बासिन्दाले अब कसैको मुख नताकी आफ्नै पहलमा कल्भर्ट निर्माण सुरु गरेका हुन्।
रायचौरी खेलमैदानदेखि पूर्वतर्फ जाने ग्राभेल सडकका तीन स्थानमा जनसहभागितामार्फत धमाधम कल्भर्ट निर्माण भइरहेको सगरमाथा टोल विकास संस्थाका उपेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार वर्षायाममा कुलोमा पानी बग्दा बाटो नै अवरुद्ध हुने समस्या समाधान गर्न यो अभियान थालिएको हो।
“पहिले काठको कल्भर्ट बनाइएको थियो, तर समयसँगै बिग्रियो। त्यसैले अहिले सबै मिलेर सिमेन्टको दिगो कल्भर्ट बनाउँदैछौं,” पौडेलले भने।
टोल विकास समिति, जग्गाधनी तथा स्थानीयको सक्रिय सहयोगमा काम अघि बढिरहेको छ। “वडाको मात्रै भर नपरी, आफ्नै गाउँ आफैं बनाऔं” भन्ने सोचसहित रकम संकलनदेखि श्रमदानसम्म स्थानीय जुटेका छन्।
हाल १६ फिट चौडाइको सडकमा भविष्यमा विस्तार गर्दा पनि समस्या नहोस् भन्ने सोचका साथ संरचना निर्माण भइरहेको छ। कल्भर्ट बनेपछि यहाँका बासिन्दालाई सहज आवतजावत हुने विश्वास गरिएको छ।