-रणध्वज लोहार
पानबारी/ श्रमदानमार्फत विकास गर्ने अभियान केराबारी गाउँपालिकामा पनि तीव्र बन्दै गएको छ।
धरानमा पूर्वमेयर हर्कराज साम्पाङले सुरु गरेको श्रम संस्कृतिबाट प्रेरित हुँदै केराबारीका स्थानीय बासिन्दा अहिले आफ्नै गाउँ बनाउने अभियानमा जुटेका छन्।
केराबारी–५ का वडाध्यक्ष अजय शुव्वाका अनुसार जनप्रतिनिधिसहित स्थानीयहरू स्वयं सक्रिय भई ऐतिहासिक जलकन्या देवी मन्दिर संरक्षण र पुनर्निर्माणमा श्रमदान गरिरहेका छन्।
साविक याङशिला क्षेत्रको यो मन्दिर बाउबाजेको पालादेखि पूजा हुँदै आएको धार्मिक स्थल हो।
इतिहासअनुसार जयराम कटेल र नन्दकिशोर कटेल शर्माले स्थापना गरेको यस देवीथानमा पानी उम्रिने विश्वाससमेत रहँदै आएको छ। २०२८ सालदेखि निरन्तर रूपमा यहाँ पूजा हुँदै आएको स्थानीय बताउँछन्।
हाल मन्दिर रुखको फेदमा जीर्ण अवस्थामा रहेपछि झण्डै ४९ घरपरिवार एकजुट भई पुनर्निर्माणमा जुटेका छन्। ललिता लिम्बु, खगेन्द्र लिम्बु, भरत लिम्बु र ग्रिस्म कटेललगायतको अगुवाइमा केही दिनयता नियमित श्रमदान भइरहेको छ।
मन्दिर व्यवस्थापन समितिसमेत गठन भई अध्यक्ष खगेन्द्र लिम्बु, सचिव ग्रिस्म कटेल र कोषाध्यक्ष ललिता लिम्बुको नेतृत्वमा काम अघि बढाइएको छ। गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले २० बोरा सिमेन्ट सहयोग गरेका छन् भने अन्य स्थानीयहरूले बालुवा, ढुंगा लगायत सामग्री उपलब्ध गराउँदै आएका छन्।
कोषाध्यक्ष लिम्बुका अनुसार देउसी–भैलोबाट संकलित रकम र स्थानीयको सहयोगबाट मन्दिर संरक्षण कार्य अघि बढिरहेको छ। मन्दिर निर्माणसँगै धार्मिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।
मन्दिर व्यवस्थापन समितिले सबैलाई सहयोगका लागि आह्वानसमेत गरेको छ।