धरान/ सामाजिक सञ्जालमार्फत धरानकी एक महिला पत्रकारमाथि अश्लील गालीगलौज गर्दै चरित्रहत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा झापा, कोहबरा गाविस–१ घर भएका ४५ वर्षीय रबि रत्न चुडाल पक्राउ परेका हुन्।
उनीमाथि सुनसरीको धरान निवासी एक महिला पत्रकारको चरित्रहत्या गरेको आरोप लागेको छ।
पीडित पत्रकारले दिएको जाहेरीअनुसार उनी आफ्नै घरमा बसेर पत्रकारिताको काम गरिरहेका बेला २०८२ माघ ११ गते ‘Khabar Bulletin TV’ नामक युट्युब च्यानलमार्फत आफ्नो फोटो र धरानका पूर्व मेयर हर्क साम्पाङको फोटो जोडेर बनाइएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएको देखेकी थिइन्।
उक्त भिडियोमा रबि रत्न चुडालले समाजमा अपाच्य तथा अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्नुका साथै उनलाई धरानको भानुचोकमा लगेर जुत्ताको माला लगाई कुटपिट गर्नुपर्छ भन्दै मिति नै तोकी धम्की दिएको पीडितको आरोप छ।
पीडितका अनुसार यस प्रकारको सामग्री सार्वजनिक हुँदा उनको व्यक्तिगत तथा सामाजिक प्रतिष्ठामाथि गम्भीर आघात पुगेको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४ बमोजिम कारबाहीको माग गर्दै उजुरी दिइएको हो।
प्रहरीका अनुसार आरोपी चुडाललाई २०८२ फागुन २८ गते साँझ करिब ४ः३० बजे काठमाडौं महानगरपालिका–४ बाट पक्राउ गरिएको हो।
पक्राउपछि उनलाई २०८२ फागुन २९ गते इलाका प्रहरी कार्यालय धरानमा उपस्थित गराइएको र हाल म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नोट: यस समाचारमा पीडित महिला पत्रकारको नाम गोप्य राखिएको छ।