इटहरी/ इटहरी उपमहानगरपालिका–१६, बालग्राममा अवस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालयले आफ्नो २९औँ अभिभावक दिवस समारोह उल्लासमय वातावरणमा भव्य रूपमा सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा एसओएस बालग्राम इटहरीका परियोजना निर्देशक देवचरण चौधरीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री माननीय रामप्रसाद महतो प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीता कुमारी चौधरी विशेष अतिथि रहनुभएको थियो भने वडा नं. १६ का वडाध्यक्ष तेजनारायण चौधरी, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख प्रकाश खरेल, विभिन्न विद्यालयका प्रधानाध्यापक, सञ्चारकर्मी, पूर्वशिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
राष्ट्रिय गान र एसओएस प्रार्थनाबाट सुरु भएको कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश तिम्सिनाको स्वागत मन्तव्यसँगै अघि बढेको थियो। प्रमुख अतिथि र सभाध्यक्षले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। कक्षा ७ का विद्यार्थीहरूले प्रस्तुत गरेको स्वागत नृत्यले समारोहलाई थप आकर्षक बनाएको थियो।
विद्यालयका प्रधानाध्यापक शशिकुमार उपाध्यायले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको उपलब्धि, चुनौती र आगामी योजनाबारे प्रकाश पार्नुभयो। उहाँले विद्यालयलाई विभिन्न कोणबाट सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गर्नुभयो।
प्रमुख अतिथि मन्त्री महतोले अभिभावकविहीन तथा निश्चित वर्गका बालबालिकाको संरक्षण र शिक्षामा विद्यालयले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। “तपाईंहरू इच्छा गर्नुहोस्, त्यो पूरा गर्न हामी हरसम्भव प्रयास गर्नेछौँ,” उहाँले भन्नुभयो।
विशेष अतिथि सङ्गीता चौधरीले स्थानीय सरकारको साथ र सहयोग निरन्तर रहने उल्लेख गर्दै समयअनुसार डिजिटल प्रविधिमार्फत शिक्षा प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो। अन्य अतिथिहरूले विद्यालयको समावेशी शिक्षा, अनुशासन र गुणस्तरको खुलेर प्रशंसा गरेका थिए।
कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो। औपचारिक सत्रको सञ्चालन शिक्षक पुष्प पराजुली र सृजना राउतले गर्नुभएको थियो भने अनौपचारिक सत्र कक्षा ११ की छात्रा सबिना खतिवडा र कक्षा ९ का छात्र विपिन खड्काले सञ्चालन गरेका थिए।
समारोहमा नर्सरीदेखि कक्षा ११ सम्मका विद्यार्थीहरूले मन्तव्य, सामूहिक गीत, नृत्य, बालगीत, गायन, बाँसुरी वादन तथा एकल नाटकजस्ता विविध सांस्कृतिक प्रस्तुति दिएका थिए, जसले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो।
अन्त्यमा प्रमुख अतिथि, विशेष अतिथि तथा सम्पूर्ण महानुभावलाई मायाको चिनो हस्तान्तरण गर्दै सभाध्यक्ष देवचरण चौधरीले धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गर्नुभयो।
विद्यालयको यो अभिभावक दिवस केवल औपचारिक समारोह मात्र नभई शिक्षा, संरक्षण र समावेशिताको सन्देश प्रवाह गर्ने प्रेरणादायी उत्सवका रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।