धरान/ यूएन-नवोदय कलेजमा साइबर अपराध सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। २०८२ साल माघ २७ र २८ गते सञ्चालन गरिएको उक्त कार्यक्रममा+२ तहका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर वविन राईले साइबर अपराधका प्रकार, सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी, ह्याकिङ, साइबर बुलिङ तथा विद्युतीय कारोबार ऐन सम्बन्धी कानुनी व्यवस्थाबारे विस्तृत जानकारी दिएका थिए। उनले डिजिटल युगमा सचेत र जिम्मेवार प्रयोगकर्ता बन्न विद्यार्थीलाई आग्रह गरे।
त्यसैगरी जिल्ला ट्राफिक कार्यालय सुनसरीका सव–इन्स्पेक्टर नारद प्रसाद दाहालले प्रविधिको प्रयोगसँगै बढ्दो ट्राफिक सचेतना, अनलाइन सेवाको प्रयोग तथा डिजिटल सुरक्षाका विषयमा प्रकाश पारेका थिए।
कार्यक्रमबारे जानकारी दिँदै कलेजका प्रिन्सिपल तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले विद्यार्थीलाई समयसापेक्ष ज्ञान दिन यस्ता कार्यक्रम आवश्यक रहेको बताए। पब्लिक रिलेसन अफिसर रामबहादुर लिम्बूले कार्यक्रमले विद्यार्थीमा साइबर सुरक्षाबारे जागरूकता अभिवृद्धि भएको उल्लेख गरे।
कार्यक्रममा विद्यार्थीहरूले जिज्ञासा राख्दै अन्तरक्रियात्मक रुपमा सहभागिता जनाएका थिए। आयोजक पक्षले यस्ता सचेतनामूलक कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।