धरान/धरान रंगशालामा जारी २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न क्वाटरफाइनल खेलमा पाँच पटकको उपविजेता आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै लालिगुराँस फुटबल क्लब पोखरा पहिलो सहभागितामै सेमिफाइनलमा प्रवेश गरेको छ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा लालिगुराँस पोखराले सुदृढ डिफेन्स र संयमित खेल प्रदर्शन गर्दै घरेलु दर्शकले भरिएको रंगशालामा आयोजक धरानलाई स्तब्ध बनायो। घरेलु मैदानमा खेलेको धरान फुटबल क्लब ठूलो समर्थकको साथ हुँदाहुँदै पनि निर्णायक क्षणमा चुक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त १५–१५ मिनेटको एक्स्ट्रा टाइममा प्रवेश गरेको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको हो।
टाइब्रेकरमा लालिगुराँस पोखराका राम थापा, टिकाराज गुरुङ, सुदिप गुरुङ, अब्दुल युसुफ र आशिष गुरुङले सफल प्रहार गर्दै टोलीलाई अन्तिम चारमा पुर्याए।
धरान फुटबल क्लबका तर्फबाट विवेक राई, सविन राई, प्रज्वल थापा र नगेन राईले गोल गरे भने दोर्जे तामाङको प्रहार विफल भयो।
खेलको ‘म्यान अफ द म्याच’ लालिगुराँस फुटबल क्लबका गोलकिपर कुम्बा देउवा घोषित भए। उनले महत्वपूर्ण बचाउ गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
पहिलो पटक बुढासुब्बा गोल्डकपमा सहभागिता जनाएको लालिगुराँस पोखराले अनुभवी टोली धरानमाथि जित निकाल्दै प्रतियोगितामा नयाँ इतिहास रचेको छ। यस जितसँगै सेमिफाइनलको समीकरण थप रोमाञ्चक बनेको छ।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
यसैबीच प्रतियोगिताअन्तर्गत(मंगलबार) भोलि झापा–११ झापा र सातदोबाटो युथ क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।