झापा–५ मा ओली र बालेन एकै दिन घरदैलोमा, सुरक्षा व्यवस्था कडा
- माघ २६, २०८२
- कोशीपत्र/संवाददाता
झापा/ प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा झापा क्षेत्र नं. ५ को चुनावी माहोल तीव्र रूपमा तातिएको छ। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह एकै दिन मतदाताको घरदैलोमा सक्रिय भएपछि यहाँको चुनावी सरगर्मी उत्कर्षमा पुगेको हो।
मुलुककै ध्यान केन्द्रित यस निर्वाचन क्षेत्रमा प्रमुख प्रतिस्पर्धी मानिएका दुवै उम्मेदवार दमक र आसपासका क्षेत्रमा केन्द्रित अभियानसहित मैदानमा उत्रिएका छन्। प्रभावशाली नेताहरूको बाक्लो उपस्थितिका कारण सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रमुख चोक, बजार र कार्यक्रम स्थलहरूमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।
बालेन्द्र साहको कमल केन्द्रित घरदैलो
रास्वपा उम्मेदवार बालेन्द्र साहले आज कमल गाउँपालिकाका विभिन्न बस्तीमा नागरिक भेटघाट (घरदैलो) कार्यक्रम सञ्चालन गरेका छन्। बिहान साढे ७ बजेदेखि सुरु भएको कार्यक्रममा सानो केर्खा चोक, केर्खा बजार, केराधाप, क्याम्पा, सुनहरा (उराउ र संथाल बस्ती), ढ्यांग्री, शरंग्पडा बजार, बाह्रबिघा मन्दिर, नहरचोक, शान्ति चोक, सुकुमबासी बस्ती लगायतका स्थान समेटिएका छन्।
रास्वपाले जनस्तरसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै स्थानीय समस्या, अपेक्षा र सुशासनका मुद्दामा केन्द्रित अभियान सञ्चालन गरिरहेको जनाएको छ। पार्टीका अनुसार आइतबार मात्रै साहले एक दर्जनभन्दा बढी स्थानमा घरदैलो सम्पन्न गरेका थिए।
ओलीको गौरीगञ्ज–दमक अभियान
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज गौरीगञ्ज गाउँपालिकाका विभिन्न स्थानमा भेटघाट तथा कार्यक्रम सञ्चालन गरेका छन्। गौरीगञ्ज क्याम्पसदेखि खजुरगाछी, देविगञ्ज, जनता चौक, मल्हाटोली–दिनाभद्री, श्यामटोली हुँदै खजुरगाछी–गौरीयाडाँगीसम्म कार्यक्रम तय गरिएको छ।
बिहीबार झापा आएका ओली शनिबारदेखि गृह नगर दमक र आसपास केन्द्रित घरदैलोमा सक्रिय छन्। भेटघाटका क्रममा स्थानीयले लालपुर्जा, सडक पूर्वाधार र कमल गाउँपालिकामा निर्माणाधीन आदिवासी रंगशालालगायत विषयमा ध्यानाकर्षण गराएका छन्। अभियानकै क्रममा ओलीले बिरामी मतदाताको घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको एमालेले जनाएको छ।
ओलीले विकास र समृद्धिको एजेन्डा अघि सार्दै त्यसका लागि एमाले नै भरोसायोग्य शक्ति भएको दाबी गरेका छन्।
प्रतिस्पर्धा रोचक
झापा क्षेत्र नं. ५ मा ओली र साहसँगै नेपाली कांग्रेसकी मन्धरा पौडेल, नेकपाका रञ्जित तामाङ र राप्रपाकी लक्ष्मी संग्रौला लगायत उम्मेदवारहरू पनि सक्रिय छन्। तर, ओली र साहको प्रत्यक्ष घरदैलो अभियानले यो क्षेत्रको चुनावी प्रतिस्पर्धालाई थप रोचक र चासोपूर्ण बनाएको छ।