धरान फुटबल क्लब उपाधि जित्ने लक्ष्यसहित बुढासुब्बा गोल्डकपमा

  • माघ २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/२६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक धरान फुटबल क्लबले उपाधि जित्ने स्पष्ट लक्ष्यसहित मैदान उत्रिने भएको छ।

पाँच पटक फाइनल पुगे पनि उपाधि जित्न नसकेको आयोजक क्लबले यसपटक इतिहास बदल्ने तयारी गरेको जनाएको छ।

धरान–१६ स्थित रंगशालामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष प्रताप तामाङले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै यसपटक उपाधि नै मुख्य लक्ष्य रहेको बताए।

“हामी पाँच पटक फाइनल खेलेर पनि उपाधिबाट टाढा रह्यौं। त्यसैले यसपटक जित्नै पर्छ भन्ने दबाब छ। यही लक्ष्यका साथ दुई महिनादेखि खेलाडीलाई नियमित प्रशिक्षण गराइरहेका छौं,” अध्यक्ष तामाङले भने।

अध्यक्ष तामाङका अनुसार प्रतियोगिता माघ २२ गतेदेखि सुरु हुँदैछ र भोलिदेखि नै सहभागी टिमहरू धरान आइपुग्न थाल्नेछन्।

बुधबार भारत र भुटानका टिमहरू धरान आइपुग्ने आयोजकले जनाएको छ। निर्वाचनका कारण कार्यक्रम आयोजनामा कडाइ भइरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट केही सर्तसहित प्रतियोगिता सञ्चालनको स्वीकृति प्राप्त भएको पनि उनले जानकारी दिए।

विशेष परिस्थितिका कारण यसपटक प्रतियोगिताको उद्घाटन समारोह सादगीपूर्ण हुने आयोजकले जनाएको छ।

तर उद्घाटन खेलअघि दुवै टिमका खेलाडीहरू अटिज्म भएका बालबालिकासँगै मैदान प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ।

“अटिज्मप्रति समाजमा सचेतना फैलाउने र ती बालबालिकाप्रति माया र सम्मानको सन्देश दिन यो कार्यक्रम राखिएको हो,” अध्यक्ष तामाङले बताए।

यस संस्करणको बुढासुब्बा गोल्डकपमा साविक विजेता एनआरटी, उपविजेता चर्च ब्वाइज युनाइटेडसहित सातदोबाटो युथ क्लब, नेपाल पुलिस क्लब, पोखराको लालीगुराँस एसोसिएशन, झापा–११, जर्जियन क्लब (भारत), रोयल थिम्पु (भुटान) र आयोजक धरान फुटबल क्लब गरी १० टिम सहभागी हुनेछन्।

यसपटक आयोजक धरान फुटबल क्लबले धरानकै खेलाडीहरूलाई मात्र समेटेर टिम निर्माण गरेको जनाएको छ। स्थानीय खेलाडीमार्फत उपाधि जित्ने लक्ष्यका साथ तयारी गरिएको क्लबको दाबी छ।

प्रतियोगिताको विजेता टिमले ट्रफीसहित १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई डियो स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ।

टिकटदर अनुसार प्रिक्वार्टरफाइनल खेलको टिकट १०० रुपैयाँ, सेमिफाइनलको २०० रुपैयाँ र फाइनलको ४०० रुपैयाँ तोकिएको छ।

विद्यार्थीहरूलाई प्रिक्वार्टरफाइनलमा ५० रुपैयाँ र सेमिफाइनलमा १०० रुपैयाँ लाग्नेछ भने फाइनलमा कुनै छुट नदिइने आयोजकले स्पष्ट पारेको छ।

प्रतियोगिताको उद्घाटन समारोहमा धरानका कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघा प्रमुख अतिथि रहनेछन्। उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र जर्जियन क्लब (भारत)बीच हुने छ।

koshi 21_1 1

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved