धरान/ पत्रकारहरूमाथि दुर्व्यवहार, गालीगलौज र धम्कीका कारण विवादमा परेको धरान उपमहानगरपालिकाको प्रेससँगको सम्बन्ध अब पुनः सामान्य बन्ने संकेत देखिएको छ।
कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले पत्रकार महासङ्घसँग तोडिएको सहकार्य पुनः सुचारु गर्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्।
प्रेस सेन्टर नेपाल, सुनसरीका अध्यक्ष तीर्थ कार्कीको नेतृत्वमा गएको टोलीले बिहीबार कावा नगर प्रमुख बेघालाई बधाईसहित बुझाएको चारबुँदे अनुरोधपत्रको जवाफ दिँदै उनले आफ्नो कार्यकालमा प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गरिने बताएका हुन्।
‘मेरो कार्यकालमा कुनै पनि पत्रकारमाथि दुर्व्यवहार, अपमान वा गालीगलौज हुन दिनेछैन,’ बेघाले स्पष्ट पारे।
उनले अघिल्लो कार्यकालमा रोकिएका लोककल्याणकारी विज्ञापन तथा सञ्चार गृहलाई दिइँदै आएका सुविधा पुनः सुचारु गरिने जानकारी दिए। साथै, नेपाल पत्रकार महासङ्घसँगको सहकार्यमा सञ्चालन हुँदै आएको पत्रकार फेलोसिप, लेखन–वृत्ति लगायत कार्यक्रमलाई निरन्तरता दिइने बताए।
पत्रकार गोपाल दाहाल धरानबाट विस्थापित हुनुपरेको घटनालाई लज्जास्पद र दुर्भाग्यपूर्ण ठहर गर्दै कावा नगर प्रमुख बेघाले यस्ता घटना अब दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले पत्रकारहरूलाई उपमहानगरभित्रका विकृति, विसङ्गति र अनियमितता निर्भीक रूपमा सार्वजनिक गर्न आग्रह गरे।
‘उपमहानगरपालिकाले खाएको एक कप चियाको हिसाबसमेत नागरिकले थाहा पाउनुपर्छ,’ भन्दै उनले पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता नहुने बताए। कुनै पनि शाखा वा महाशाखाबाट जनतालाई दुःख दिने काम भएको प्रमाणसहित जानकारी आए तत्काल कारबाही गरिने उनको भनाइ छ।
प्रेस सेन्टर केन्द्रीय सदस्य जनक ऋषि राईले पत्रकार गोपाल दाहालमाथि भएको व्यवहारले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै यस्ता घटना दोहोरिन नदिन स्थानीय सरकार संवेदनशील र जिम्मेवार हुनुपर्ने बताए।
यसैबीच, प्रेस सेन्टर नेपाल, सुनसरीले विगतमा पत्रकारमाथि भएको गालीगलौज र धम्कीपूर्ण व्यवहारले प्रेस स्वतन्त्रता कमजोर बनेको उल्लेख गर्दै लोककल्याणकारी विज्ञापन पुनः सञ्चालन, पत्रकार फेलोसिपको निरन्तरता र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न स्थानीय सरकारसँग पुनः माग गरेको छ।