धरान/ सुनसरीको धरानमा शैक्षिक भ्रमणमा आएको बस दुर्घटना हुँदा चालकसहित ५ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।
जनकपुरबाट शैक्षिक भ्रमण आएको बस भेडेटार बाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको ‘इन्टरनेशनल टेम्स एकेडेमी’ लेखिएको बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी विनोद घिमिरेका अनुसार उक्त बस धरान क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।
सुनसरीका प्रहरी प्रमुख (एसपी) केशव थेबेले चालकसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गर्नुभयो।
दुर्घटनामा तीन पुरुष र दुई महिलाको ज्यान गएको छ।
दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
मृतक र घाइतेहरू बसका यात्रु हुन् वा दुर्घटना भएको ठाउँमा किचिएका हुन् भन्ने एकिन हुन बाकीँ रहेको प्रहरीले जनाएको छ ।
मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन ।